समृद्धिका लागि ऊर्जा विकास अपरिहार्य : अध्यक्ष लिङ्देन
झापा, हल्दिवारी – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष तथा झापा क्षेत्र नम्बर–३ बाट निर्वाचित संघीय सांसद राजेन्द्र लिङ्देनले नेपालको समृद्धि सुनिश्चित गर्न ऊर्जा विकासलाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिनुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लिङ्देनले ऊर्जा, पर्यटन, कृषि, प्रवासमा रहेका नेपालीको सीप तथा पुँजी र सूचना प्रविधिलाई नेपालको समृद्धिको प्रमुख आधारका रूपमा औंल्याउनुभएको हो। उहाँले भन्नुभयो, “ऊर्जा क्षेत्रको पूर्ण विकास बिना समृद्धिको यात्रा असम्भवजस्तै छ। सरकारको नीति तथा प्राथमिकता ऊर्जा क्षेत्रको विकासमा केन्द्रित हुनुपर्छ।”
ऊर्जाको क्षेत्रमा निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले वर्तमान बजेटमा प्रस्ताव गरिएको 'टेक एण्ड पे' अवधारणाअनुसार विद्युत् खरिद सम्झौता (PPA) गर्ने निर्णयले निजी लगानीकर्ताको उत्साहमा प्रतिकूल असर पार्ने चेतावनी दिनुभएको छ।
लिङ्देनले यदि सरकारले 'टेक अर पे' नीति हटाएर 'टेक एण्ड पे' लाई निरन्तरता दिन चाहन्छ भने, निजी क्षेत्रलाई विद्युत् व्यापारको बाटो खुला गर्नुपर्ने माग पनि गर्नुभएको छ।
प्रतिक्रिया