साफ यू–१७ महिला च्याम्पियनसिप : उपाधि होडमा टिक्न नेपाललाई आज बंगलादेशमाथि जित अनिवार्य
११ भदौ, काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो चौथो खेल आज बंगलादेशसँग खेल्दै छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल दिउँसो नेपाली समयअनुसार पौने ३ बजे सुरु हुनेछ ।
यसअघि आइतबार बंगलादेशसँगै खेलेको नेपाल ३–० ले पराजित भएको थियो । आजको खेलसहित बाँकी तीनै खेल जित्नुपर्ने दबाबमा रहेको नेपाल हार्न पुगे उपाधि होडबाटै बाहिरिनेछ । हार भए नेपाल अधिकतम ९ अंकसम्म पुग्न सक्छ तर भारत र बंगलादेशबीच हुने खेलपछि एक टोलीले सोभन्दा बढी अंक जोड्ने भएकाले नेपाललाई अन्तिम तीनै खेल जित्नु अपरिहार्य छ ।

डबल राउण्ड रोबिन लिगको आधारमा भइरहेको प्रतियोगितामा हाल भारत ३ खेलमा ९ अंक जोडेर शीर्षस्थानमा छ भने बंगलादेश ३ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ । नेपाल ३ अंकसहित तेस्रोमा र जितविहीन भुटान चौथो स्थानमा रहेको छ ।
नेपालले पहिलो खेलमा भारतसँग ७–० को फराकिलो हार बेहोरेको थियो भने दोस्रो खेलमा आयोजक भुटानलाई २–१ ले हराएको थियो । उता, बंगलादेशले भुटानलाई ३–१ ले हराए पनि भारतसँग २–० ले पराजित भएको थियो । पछिल्लो समय बंगलादेश उमेर समूहका महिला फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ भने नेपाल भने भुटानसँगै प्रतिस्पर्धात्मक खेल पस्कने स्तरमा देखिएको छ ।

चार टोली सहभागी प्रतियोगितामा सर्वाधिक अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।
प्रतिक्रिया