लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षा
काठमाडौं, १ असोज ।
गएराति लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा धेरै वर्षा पूर्वीनवलपरासी (नवलपुर) को देउरालीमा १०९.६ मिलिमिटर मापन गरिएको छ।
त्यसपछि सुर्खेतको गोठीकाँडामा १०१.४ मिलिमिटर र जम्मुमा ६२.४ मिलिमिटर वर्षा भएको छ। यस्तै, पाल्पाको अर्चलेमा ७८.२, कैलालीमा ६६.२, अर्घाखाँचीमा ५०.४ र चितवनको गोविन्दबस्तीमा ५५.८ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहनुका साथै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर वर्षा भइरहेको हो।
आज पनि देशभर आंशिकदेखि पूर्ण बदली रहने पूर्वानुमान छ। विशेषगरी कोशी, मधेश, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी विभागले दिएको छ। साथै, गण्डकी प्रदेशको पहाडी भूभागमा मध्यम वर्षा र बाँकी भागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

प्रतिक्रिया