जनताको पीडा र सत्ताको खेल
देशको नेतृत्व फेरिँदा आशा फेरिन्छ भन्ने जनताको अपेक्षा हरेक पटक देखिन्छ। तर वास्तविकता भने उहीँ छ—जनता अझै पैरोमा पुरिएका छन्, आन्दोलनका घाइते अझै उपचार र क्षतिपूर्ति बिना पीडामा छन्, चाडबाडको बेला समेत घर फर्कन नसक्ने स्थिति छ।

जेन्जी आन्दोलनले परिवर्तन र पारदर्शिताको सपना बोकेको थियो। तर परिणाममा परिवारहरू अझै आहत छन्, घाउ अझै पुरिएको छैन। “हात्तीलाई माला बोकेर राजा चुन्न पठाएजस्तै” भन्ने कटाक्ष आजको अवस्थामा निकै उपयुक्त देखिन्छ—बाह्य प्रदर्शन छ, तर भित्री परिवर्तन शून्य।
यसबीच, नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीले राष्ट्रलाई सम्बोधन गर्दै भ्रष्टाचार अन्त्य, पारदर्शिता र रोजगारीलाई प्राथमिकतामा राख्ने घोषणा गरेकी छन्। छानबिन समिति गठन, आगामी निर्वाचनको तयारी र सुधारका प्रतिवद्धता स्वागतयोग्य छन्। तर सम्बोधन मात्र जनताको घाउमा मलम बन्न सक्दैन। घाइते परिवारलाई तत्काल राहत, क्षतिपूर्ति र दीर्घकालीन सुरक्षाको ठोस कार्यक्रमबिना सरकारको विश्वास जित्न कठिन हुनेछ।

सत्ताको खेलमा रमाउने परम्परा अब अन्त्य हुनैपर्छ। जनताको पीडा, युवापुस्ताको आक्रोश र पीडित परिवारको आँसु नै सरकारको ऐना हो। यदि कार्की नेतृत्वले यो अवसर गुमायो भने फेरि अर्को आन्दोलन अपरिहार्य हुनेछ।
प्रतिक्रिया