मंसिर ०२ २०८२, सोमबार

चीनमाथि सय प्रतिशत अतिरिक्त कर लगाउने अमेरिकी राष्ट्रपतिको घोषणा

Ads

२५ असोज, काठमाडौं। — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले व्यापारमा ‘असाधारण आक्रामक अडान’ लिएको आरोप लगाउँदै चीनबाट आयात हुने सामानमा थप सय प्रतिशत कर लगाउने घोषणा गरेका छन्।

शुक्रबार आफ्नो ट्रुथ सोसियल प्लेटफर्ममा लेखेको पोस्टमा ट्रम्पले चीनले ‘विश्वलाई अत्यन्तै शत्रुतापूर्ण पत्र’ पठाएको र ‘उनीहरूले बनाउने लगभग हरेक उत्पादनमा ठूलो मात्रामा निर्यात नियन्त्रण’ लगाएको उल्लेख गरेका छन्।

Ads

ट्रम्पले भनेका छन् कि नोभेम्बर १, २०२५ देखि (वा चीनले गरेको कुनै पनि थप कार्य वा परिवर्तनका आधारमा अझै छिट्टै) अमेरिका चीनबाट आयात हुने वस्तुमा अहिले तिरिँदै आएको शुल्कका अतिरिक्त सय प्रतिशत अतिरिक्त कर लगाउनेछ।

उनले भनेका छन्, “चीनले यो अभूतपूर्व अडान लिएको तथ्यको आधारमा, र केवल संयुक्त राज्य अमेरिकाको लागि बोल्दै, नोभेम्बर १ देखि संयुक्त राज्य अमेरिकाले चीनमा हाल तिरिरहेको कुनै पनि शुल्कको अतिरिक्त सय प्रतिशत शुल्क लगाउनेछ।”

Ads

ट्रम्पले चीनमाथि दुर्लभ खनिजहरूमा निर्यात नियन्त्रण लगाएको कारण आफूले यस्तो कर लगाउन लागेको स्पष्ट पारेका छन्। चीनले विदेशी कम्पनीहरूलाई धातु तत्व विदेश पठाउन विशेष स्वीकृति लिनुपर्ने नियम लगाएको थियो। यी दुर्लभ खनिज तत्वहरू स्मार्टफोन, इलेक्ट्रिक सवारी, सैन्य उपकरण र नवीकरणीय ऊर्जा प्रविधि निर्माणमा अत्यावश्यक मानिन्छन्।

ट्रम्पले यसअघि भनेका थिए कि उनी दक्षिण कोरियामा हुने आगामी एपीईसी शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने कुनै कारण देख्दैनन्। उनले लेखेका थिए, “म दुई हप्तामा दक्षिण कोरियामा राष्ट्रपति सीलाई भेट्ने थिएँ, तर अब त्यसो गर्ने कुनै कारण छैन।”

Ads

यो यात्रामा उनले मलेसिया, जापान र दक्षिण कोरिया भ्रमण गर्ने कार्यक्रम तय गरिएको थियो। तर अब सी जिनपिङसँगको सम्भावित भेट स्थगित हुने भएको छ।

ट्रम्पका अनुसार अन्य प्रतिरोधात्मक उपायहरू पनि विचाराधीन छन्। यो कदमले अमेरिका र चीनबीचको सम्बन्धमा हालसम्मकै ठूलो तनाव ल्याएको बताइएको छ।

विश्लेषकहरूले भनेका छन् कि यो निर्णयले विश्व अर्थतन्त्रमा अस्थिरता बढाउने सम्भावना पनि उब्जाएको छ, किनभने चीन र अमेरिका क्रमशः विश्वका सबैभन्दा ठूलो उत्पादन र उपभोग बजार हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार