बेनीको तोरीपानीमा घरबास सञ्चालन, पर्यटकका लागि नयाँ गन्तव्य
बेनी (म्याग्दी) — बेनी नगरपालिका–९ तोरीपानीमा अब पर्यटकहरूका लागि घरबास (होमस्टे) सेवा सञ्चालनमा आएको छ। स्थानीय आयआर्जन वृद्धि, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै पहिलो चरणमा पाँच घरमा २१ जनालाई एकैपटक बस्न सकिने क्षमता भएको घरबास सुरु गरिएको हो।
घरबास समूहकी अध्यक्ष सीता खत्रीका अनुसार पाहुनाका लागि आवश्यक कोठा, शौचालयलगायतका पूर्वाधार तयार भइसकेका छन्। उनका भनाइमा, इको हिमालय संस्थाले बेड, विस्तारा र सरसफाइका सामग्रीहरू गरी करिब ६ लाख रुपैयाँ बराबरका सामग्री सहयोग गरेको छ।

हाल जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना क्षेत्रीका घरमा घरबास सञ्चालनमा छन्। संस्था आधिकारिक रूपमा दर्ता भइसकेको र दोस्रो चरणमा थप घरमा पनि घरबास सुरु गर्ने तयारी भइरहेको समूहले जनाएको छ।
समुद्री सतहबाट १,७५० मिटर उचाइमा अवस्थित तोरीपानीबाट धवलागिरि र अन्नपूर्ण हिमालको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ। मसलेदार फल टिमुरखेतीका लागि प्रसिद्ध यो गाउँको वरिपरि टोड्के, ढोलथान दरबार र धार्मिक स्थल पछै जस्ता आकर्षक स्थलहरू छन्।

बेनीदेखि नेप्टेचौर हुँदै तोरीपानीसम्मको सडक गण्डकी प्रदेश सरकारमार्फत कालोपत्रे गरी स्तरोन्नतिको क्रममा छ। त्यस्तै, तोरीपानी हुँदै ढोलथान दरबारसम्म पुग्ने सडकको सुधारका योजना संघीय र स्थानीय सरकार दुवैतर्फबाट सञ्चालनमा छन्।
बेनीमा आउने पारिवारिक वातावरणमा रमाउन इच्छुक पर्यटकका लागि तोरीपानी उपयुक्त र शान्त गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ। घरबासको विस्तारसँगै पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय आयआर्जन वृद्धिमा सहयोग पुग्ने अपेक्षा वडाध्यक्ष चक्र केसीले व्यक्त गरे।

प्रतिक्रिया