मंसिर ०२ २०८२, सोमबार

उपल्लो मुस्ताङ भ्रमण गर्न आउने पर्यटकलाई स्वास्थ्य सावधानी अपनाउन आग्रह

Ads

लोमान्थाङ, मुस्ताङ। उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई उच्च उचाइका कारण हाइअल्टिच्युड–सम्बन्धी स्वास्थ्य समस्या हुन सक्ने भएकाले गाउँपालिकाले आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ। लोमान्थाङ गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै अत्यधिक चिसो बढिरहेको र उच्च उचाइमा भ्रमण गर्दा पर्यटकमा लेक लाग्ने समस्या देखा परेको उल्लेख गरेको छ।

गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताएअनुसार दसैँ, तिहार र छठ पर्वको बिदा अवधिमा उपल्लो मुस्ताङ भ्रमण गर्न आउने पर्यटकको संख्या बढ्ने भएकाले स्वास्थ्य सुरक्षा अपनाएर मात्र यात्रा गर्न अनुरोध गरिएको हो। यस याममा नेपाल–चीन उत्तरी कोरलानाका र उपल्लो मुस्ताङ क्षेत्रमा भ्रमण गर्न आएका केही पर्यटकमा हाइअल्टिच्युडका कारण समस्या देखिएका थिए र गाउँपालिकाले सीमित स्रोतसाधनका बावजुत स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ।

Ads

सूचनामा भनिएको छ कि लेक लागेर सिकिस्त भएका पर्यटकलाई निःशुल्क एम्बुलेन्स सेवामार्फत जोमसोमस्थित प्रदेश अस्पताल पुर्‍याइने व्यवस्था गरिएको छ। अध्यक्ष गुरुङले पर्यटनमार्गमा आउने पर्यटकलाई आफ्नो स्वास्थ्य अवस्था विचार गरी यात्रा गर्न, दीर्घ रोग भएका व्यक्तिले चिकित्सकको सल्लाह लिएर मात्र यात्रा गर्न, चिसोबाट बच्न आवश्यक स्वास्थ्य सामग्री ल्याउन, खाली पेटमा यात्रा नगर्न, दैनिक चार–पाँच लिटर पानी र तरल पदार्थ सेवन गर्न र विभिन्न ठाउँमा विश्राम लिँदै यात्रा गर्न अनुरोध गरेका छन्।

नेपाल–चीन उत्तरी कोरलानाका अवलोकनका लागि दैनिक करिब दुई हजार पर्यटक आउने गरेको लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (BOP) ले जनाएको छ। BOP निरीक्षक विष्णुहरी थापाका अनुसार कोरला नाकामा पुगेका पर्यटकमा हाइअल्टिच्युडसम्बन्धी समस्या देखा परेको छ भने चिसोका कारण सवारी साधन पनि चल्न नसक्ने जस्ता चुनौतीहरू देखिएका छन्। यसैले पर्यटकलाई बिहान ७ बजे देखि दिउँसो २ बजे सम्म मात्रै यात्रा गर्न सुझाव दिइएको छ।

Ads

गाउँपालिकाले यस सार्वजनिक सूचनामार्फत पर्यटकलाई हावापानी र भौगोलिक चुनौतीका कारण हुने स्वास्थ्य जोखिमबाट बच्न ध्यान दिन र सुरक्षित भ्रमण सुनिश्चित गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार