बलियो शक्तिसँग जुध्न कमजोरहरू एकजुट हुन्छन् : ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बलियो शक्तिसँग प्रतिस्पर्धा गर्न नसक्नेहरूले एकताको नाममा मोर्चा बनाउने गरेको टिप्पणी गरेका छन्। उनले कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघ वा सिंहको सिकार गर्न नसक्ने उदाहरण दिँदै एमालेको शक्तिसँग जुध्न विभिन्न शक्तिहरू एकजुट हुन खोजेको बताए।

मंगलबार काठमाडौँमा आयोजित एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले विशाल एमाले देखेपछि “तिमी र म मिलौँ, उसँग पनि मिलौँ” भन्ने आवाज उठ्न थालेको उल्लेख गरे।
उनले भने, “विशाल एमालेसँग भिड्नुपरेपछि कुखुरा र बाख्राले मोर्चा बनाउँछन्, स्याल पनि मिसिन्छ। तर कुखुरा–बाख्राको मोर्चाले बाघ र सिंहसँग प्रतिस्पर्धा गर्न सक्छ ? दुब्लाको काम नै मोर्चा बनाउने हो। बलियासँग लड्न दुब्लाले गर्ने भनेकै एकता हो। आज पनि एउटा एकता बन्छ, रातिसम्म अर्काे बन्छ, भोलि फेरि अर्को बन्छ।”

चुनाव आउनुअघि नै आफूलाई प्रधानमन्त्री बनाइसकेको जस्तो टिप्पणी हुने गरेकोप्रति संकेत गर्दै ओलीले त्यसको जवाफ दिने तयारीमा पार्टी रहेको बताए।
उनले थपे, “महाधिवेशनले अर्को अवसरमा यसको जवाफ दिने तयारी गरेको छ। देशमा को लोकप्रिय छ भन्ने बहस निर्वाचनसम्म चलिरहन्छ। प्रधानमन्त्री बनाइसकेका भनिनेहरूलाई हामी चुनावको पर्खाइमा छौँ—फागुन २१ मा होस्, वैशाखमा होस् वा अर्को मंसिरमा, हामी पर्खिरहेका छौँ।”

प्रतिक्रिया