माघ ०१ २०८२, बुधवार

भन्सार मूल्यांकनमा ऐतिहासिक सुधार, कारोबार मूल्यमा आधारित प्रणाली देशभर लागू

Ads


काठमाडौं ।
नेपाल सरकारले भन्सार मूल्यांकन प्रणालीमा ऐतिहासिक सुधार गर्दै कारोबार मूल्यमा आधारित भन्सार मूल्यांकन प्रणाली देशभर औपचारिक रूपमा लागू गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हालेपछि करिब तीन महिना अघि विराटनगर भन्सार नाकाबाट परीक्षणका रूपमा सुरु गरिएको यो प्रणाली आजदेखि मुलुकभरका सबै भन्सार नाकामा कार्यान्वयनमा आएको हो।
यससँगै, वर्षौँदेखि भन्सार मूल्यांकनको नाममा प्रयोग हुँदै आएको ‘मूल्यांकन सन्दर्भ पुस्तिका’ राख्ने अपारदर्शी, अन्यायपूर्ण र विवादास्पद अभ्यासको अन्त्य भएको छ। व्यवसायीहरूले लामो समयदेखि भोग्दै आएको अनावश्यक दुःख, मनपरी मूल्य निर्धारण र घुसको वातावरण हट्ने विश्वास लिइएको छ।
नेपाल मार्बल टाइल्स संघका अध्यक्ष लक्ष्मी प्रसाद संग्रौलाले यो उपलब्धि दशकौँदेखिको निरन्तर संघर्ष, संवाद र दबाबको परिणाम भएको बताएका छन्। उनका अनुसार यथार्थ खरिद मूल्यका आधारमा कारोबार मूल्य निर्धारण हुने प्रणाली लागू हुनु व्यवसायी र राज्य दुवैका लागि हितकर छ।
यो सुधारले व्यवसायीलाई इमानदार कारोबार गर्न सहज वातावरण सिर्जना गर्ने, नक्कली बिल–बिजक प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्ने, राज्य र व्यवसायीबीचको विश्वास पुनःस्थापित गर्ने महत्वपूर्ण उपलब्धि हासिल गरेको संघको भनाइ छ।
मार्बल, टायल्स, सेनेटरी र हार्डवेयर व्यवसायी समुदायले उठाउँदै आएको माग पूरा भएको उल्लेख गर्दै संघले यस निर्णयलाई देश हितमा गरिएको नीतिगत सुधारका रूपमा स्वागत गरेको छ।
संघका अनुसार भन्सार सुधारसँगै उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन रणनीतिमा सरकार अघि बढ्न थालेको संकेत पनि देखिएको छ, जसले उद्योग, व्यापार र रोजगारी प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
संघले अर्थमन्त्री रामेश्वर खनाल, वर्तमान मन्त्रीपरिषद् तथा भन्सार सुधारमा संलग्न सबै पक्षप्रति आभार व्यक्त गर्दै यस उपलब्धिलाई नीति सुधारका लागि संघर्ष गर्ने सबै सचेत नागरिकहरूको साझा जित भएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार