फाल्गुण २८ २०८२, बिहिबार

गगन थापाको उदयसँगै कांग्रेसको पुनर्जागरण : राष्ट्रिय सभादेखि प्रतिनिधि सभासम्म बदलिँदो शक्ति सन्तुलन

Ads


✍️विश्व प्रकाश शर्मा
नेपाली कांग्रेस युवा नेता

नेपाली कांग्रेसको पछिल्लो राजनीतिक यात्रा सामान्य उतार–चढावको कथा होइन, यो पुनर्जागरणको संकेत हो। गगन थापाको सक्रिय राजनीतिक अग्रसरता र वैचारिक उपस्थितिसँगै कांग्रेसले आफूलाई फेरि राष्ट्रिय राजनीतिको केन्द्रमा उभ्याएको छ। हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा २५ सदस्यसहित पहिलो दल बन्न सफल हुनु, केवल अंकगणितीय उपलब्धि मात्र होइन, जनमतको दिशामा आएको ठोस परिवर्तनको प्रतिविम्ब हो।
यो परिणामले एकैसाथ दुई सन्देश दिएको छ—एकातिर कांग्रेसभित्र लामो समयदेखि अपेक्षित आमूल परिवर्तन र पुस्तान्तरण अब व्यवहारमा देखिन थालेको छ भने अर्कोतिर मतदाता पुरानो शैलीको राजनीतिबाट बाहिर निस्कन चाहिरहेको स्पष्ट संकेत देखिएको छ। गगन थापाले प्रतिनिधित्व गर्ने राजनीतिक सोचले कांग्रेसलाई इतिहासको बोझबाट मुक्त गर्दै भविष्यको भरोसामा रूपान्तरण गरिरहेको अनुभूति यतिबेला पार्टी पंक्तिमा मात्र होइन, आम जनमानसमा समेत देखिन थालेको छ।

Ads

यही राजनीतिक लयको निरन्तरतामा, आउँदै गरेको फागुन–२१ को निर्वाचनअघि नै नेपाली कांग्रेसले प्रतिनिधि सभामा खाता खोलिसकेको छ। मनाङबाट प्रतिनिधि सभा सदस्य सर्वसम्मत रूपमा निर्वाचित हुनु प्रतिस्पर्धाको अभाव मात्र होइन, कांग्रेसप्रतिको विश्वास र स्वीकार्यताको प्रमाण हो। सहमतिको राजनीतिमा कांग्रेसको यो प्रवेशले राजनीतिक संस्कृतिमा समेत सकारात्मक संकेत दिएको छ, जहाँ जित मात्र होइन, विश्वासलाई पनि महत्व दिन थालिएको छ।

राष्ट्रिय सभामा पहिलो दल बन्नु र प्रतिनिधि सभामा निर्विरोध सुरुवात हुनु एउटै राजनीतिक धाराको परिणाम हो—मतदाता अब उत्तेजक भाषण होइन, स्पष्ट दृष्टि खोजिरहेका छन्। देशले भोग्दै आएको अस्थिरता, अवसरवाद र निरन्तर सत्ता–संघर्षबाट दिक्क बनेको जनमत अब जवाफदेही, समावेशी र दीर्घकालीन सोच भएको नेतृत्वतर्फ फर्किन थालेको देखिन्छ। यही मोडमा गगन थापाको राजनीतिक उपस्थिति निर्णायक बन्दै गएको छ।
गगन थापाले अघि सारेको “सबै अट्ने कांग्रेस, सबैलाई जोड्ने कांग्रेस” भन्ने अवधारणा आज नारा मात्र रहेन। पार्टीभित्र नयाँ पुस्तालाई अवसर, पुरानोलाई सम्मान र संस्थागत निर्णय प्रक्रियालाई प्राथमिकता दिने अभ्यासले कांग्रेसलाई पुनः भरोसायोग्य विकल्पका रूपमा उभ्याइरहेको छ। उमेरको हिसाबले मात्र होइन, सोच र शैलीको हिसाबले युवा नेतृत्वको उदयले कांग्रेसलाई जनतासँग पुनः जोड्ने काम गरेको छ।

Ads

मधेसबाट उठेको “अबकी बार, गगन सरकार” नारा भावनात्मक आवेग मात्र होइन, राजनीतिक यथार्थको संकेत बन्दै गएको छ। यो नाराले पहाड, मधेस र हिमालबीचको दूरी मेटाउने आकांक्षा बोकेको छ भने केन्द्र र परिधिबीचको अविश्वास अन्त्य गर्ने सम्भावनालाई पनि उजागर गरेको छ। गगन थापा अब कुनै एक भूगोल, वर्ग वा समुदायका नेता मात्र रहेनन्, उनी साझा राष्ट्रिय नेतृत्वको सम्भावनाका रूपमा हेर्न थालिएको छ।
नेपाली कांग्रेसभित्र देखिएको आत्मआलोचना, सुधारको साहस र नयाँ अनुहारप्रतिको भरोसाले पार्टीलाई फेरि आशाको केन्द्र बनाइरहेको छ। यदि यही राजनीतिक अनुशासन, वैचारिक स्पष्टता र समावेशी दृष्टिकोण कायम रह्यो भने कांग्रेसको यो लय क्षणिक हुने छैन। राष्ट्रिय सभा र प्रतिनिधि सभामा देखिएको परिवर्तनले अब सरकारको नेतृत्वसम्मको बाटो खोल्न थालेको विश्लेषण गर्न थालिएको छ।

आजको प्रश्न “को जित्छ?” मात्र रहेन। प्रश्न “देशलाई कसरी स्थिर, न्यायपूर्ण र भरोसायोग्य बनाइन्छ?” भन्ने भएको छ। त्यो प्रश्नको उत्तर खोज्ने यात्रामा नेपाली कांग्रेस र गगन थापाको नाम एकसाथ जोडिन थालेको छ। यही कारण, पछिल्लो राजनीतिक घटनाक्रमलाई धेरैले केवल निर्वाचन परिणाम होइन, नेपाली राजनीतिमा देखिएको स्पष्ट मोडका रूपमा हेर्न थालेका छन्।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार
असोज ११ २०८२,आइतबार
असोज ०८ २०८२,बिहिबार