सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल जोशीको बयान सकियो
बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको प्रकरणमा उपाध्यक्ष छविलाल जोशीसँगको बयान सम्पन्न भएको छ। सोमबार र मङ्गलबार गरी जोशीसँग १३ घण्टासम्म बयान लिइएको थियो।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धी अनुसन्धानका क्रममा जोशी पोखरा प्रहरी हिरासतमा थिए। बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मामलामा पनि अनुसन्धान गर्न प्रहरीले उनलाई सोमबार बुटवल ल्याएको थियो।
जिल्ला सरकारी वकिल कार्यालय भैरहवाका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलका अनुसार, सोमबार ५ घण्टा र मङ्गलबार ८ घण्टा गरी जोशीसँग १३ घण्टा लामो बयान लिइयो। पौडेलले भने, ‘उहाँको बयान सकिएको छ, हामीले ५७ वटा प्रश्न सोधेका थियौँ। अब उहाँबाट प्राप्त उत्तरलाई अनुसन्धान प्रतिवेदनमा समावेश गर्ने छौँ।’
प्रारम्भिक अनुसन्धानअनुसार, सुप्रिम सहकारीबाट जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ स्थानान्तरण भएको छ। त्यस्तै, गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछानेका नाममा २ करोड रुपैयाँ गएको छ।
यसैगरी, जोशी, लामिछाने, जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल, र गोर्खा मिडिया नेटवर्कको नाममा गरी सुप्रिमका १० हजार ३ सय ९१ बचतकर्ताको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ स्थानान्तरण भएको अनुसन्धानमा पाइएको छ। यस प्रकरणमा, प्रहरी अनुसन्धानपछि जिल्ला अदालतमा जोशी, राई, र सुप्रिमका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। तीमध्ये अध्यक्ष गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन् भने, पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा छुटेका छन्। पूर्वअध्यक्ष राईसहित अन्य केही व्यक्ति फरार रहेका छन्।
रुपन्देही जिल्ला प्रहरी प्रमुख रञ्जित सिंह राठोरका अनुसार, जोशीको बयान प्रक्रिया पूरा भइसकेको छ र बुधबार उनलाई पोखरा फर्काइनेछ। ‘उहाँको बयानका सबै काम सकिएको छ, अब भोलि पोखरा नै पठाउँछौं,’ राठोरले भने, ‘आज राति उहाँलाई जिल्ला प्रहरी कार्यालय भैरहवामै राख्छौं।’
स्वास्थ्य समस्याका कारण जोशीलाई सोमबार दिउँसो जहाजमार्फत पोखराबाट बुटवल ल्याइएको थियो र बुधबार पनि जहाजमार्फत नै पोखरा पठाइने प्रहरी स्रोतले जनाएको छ।
प्रतिक्रिया