६२ दिन देखि थुनामा राखिएका रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ, पुष २ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा लामिछाने ६२ दिनदेखि प्रहरी हिरासतमा रहेका छन्।
यसपटक आठौं पटक म्याद थप गर्दै अदालतले अनुसन्धानका लागि थप चार दिनको समय दिएको हो। प्रहरीको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले आउँदो शुक्रबार लामिछानेविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ।
अनुसन्धानको प्रगति
कास्की प्रहरीले पोखरास्थित सूर्यदर्शन सहकारीका १८ हजार ७ सय बचतकर्ताको बचत अपचलनमा संलग्न रहेको आरोपमा प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदनमा सहकारी ठगी र सङ्गठित अपराधमा ५० जनालाई समेत मुद्दा चलाउन सिफारिस गरिएको छ।
प्रहरीको सिफारिसअनुसार रवि लामिछानेविरुद्ध: सहकारी ठगी र सङ्गठित अपराध – ४ देखि ६ वर्ष कैद, थप ५० प्रतिशत सजाय।
सम्पत्ति शुद्धीकरण – २ देखि १५ वर्ष कैद, २८ करोड बिगो र त्यति नै जरिवाना।
कुल असुली – सहकारीको अपचलित १ अर्ब ३५ करोड रुपैयाँ असूल गर्न सिफारिस।
हिरासतको सिलसिला
लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए। त्यसयता विभिन्न चरणमा क्रमशः ६, ७, १०, १३, १५, ४ र ५ दिन म्याद थप गर्दै अनुसन्धान भइरहेको छ। यसपटक थप चार दिनको अनुमति पाएसँगै उनीविरुद्धको कानुनी प्रक्रिया अन्तिम चरणमा पुगेको अनुमान गरिएको छ।
बाँकी अनुसन्धान
चितवन, पर्सा, काठमाडौँ र रुपन्देही जिल्लामा लामिछानेको बयान सकिएको छ। अब कास्की अदालतमा शुक्रबारसम्म सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेपछि कानुनी प्रक्रिया अगाडि बढ्नेछ।
प्रतिक्रिया