d

जानकिश्वरमा स्व. डिठ्ठा नरबहादुर बस्नेतको सम्झनामा स्मृति सभा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

गौरादहका पुर्व जनप्रतिनिधि तथा समाजसेवी स्व. नरबहादुर बस्नेत (डिठ्ठा बा) को १०४ औं जन्मजयन्ती विशेष कार्यक्रम गरि मनाइएको छ । सधैंका वर्षहरू झैँ  यस वर्षपनि गौरादह १ स्थित जानकिश्वर शिवालय मन्दिर परिसरमा वहाँको स्मरण गर्दै १०४ औं जन्मजयन्ती मनाइएको हो । डिठ्ठा नरबहादुर बस्नेत स्मृति प्रतिष्ठानको मुख्य आयोजना तथा सह आयोजक ज्येष्ठ नागरिक जानकेश्वर गुरुकुल रहेको कार्यक्रममा कार्यक्रममा वक्ताहरुले स्व. डिठ्ठा नरबहादुर बस्नेतका योगदानहरु बारे चर्चा गरेका थिए । 

कोशी प्रदेश सभामुख अम्बर बहादुर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै विष्टले स्व. नरबहादुर बस्नेत जनप्रतिनिधि मात्र नभई एक कुशल इन्जिनियर समेत रहेको बताए । वहाँको दुरदर्शिता कै कारण गौरादहमा प्रशस्त रूपमा  सरकारी जमिन रहेको बताउदै सरकारी जमिन संरक्षणमा स्थानीय सरकारले पहलकदमी गर्नुपर्ने औँल्याए ।  स्व. डिठ्ठा नरबहादुर बस्नेत कै प्रेरणा पाएर आफू राजनीतिमा आएको बताए  । जानकेश्वर  शिवालय मन्दिरले हरेक वर्ष वहाँको स्मृतिमा जन्मजयन्ती मनाउने गरेकोमा आयोजकको प्रसंसा गर्दै सभामुख विष्टले यस प्रकारको कार्यक्रम दमक-गौरादह-गौरिगञ्ज क्षेत्रलाई समेटेर वृहत रूपमा मनाउनु पर्ने औँल्याए । 

कार्यक्रम पुर्व मेयर रोहित कुमार साह, पुर्व शिक्षक भिमा उप्रेती, वडाध्यक्षहरु नगेन्द्र भण्डारी र गोपाल कोइराला तथा स्व. नरबहादुर डिठ्ठाको जनप्रतिनिधि कालमा तत्कालीन गाप सचिब गोबिन्द खड्का, ज्येष्ठ नागरिक गौरादहका अध्यक्ष तथा पुर्व क्याम्पस प्रमुख गोपाल प्रसाद काफ्ले लगायतले मन्तव्य प्रस्तुत गरेका थिए । 

सोही अवसरमा स्व. बस्नेतकी सुपुत्री बबिता बस्नेतले आफ्ना स्व. पिताको स्मृतिमा जानकेश्वर मन्दिर परिसरमा स्थापित गुरुकुल संस्कृत बिद्यालयलाई सहयोग स्वरुप नगद ३० हजार हस्तान्तरण गर्दै हरेक वर्ष यो कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । 
कार्यक्रममा विभिन्न संघ/ संस्थाका प्रतिनिधिहरु, राजनीति शैक्षिक बौद्धिक व्यक्तिहरु, लगायत उल्लेख्य संख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो । 

सोही अवसरमा समाजसेवीहरु कर्ण बहादुर कटुवाल, देउ नारायण दङ्गाल, गंगा प्रसाद राइ र मान बहादुर दर्जी, विष्णुमाया भुजेल र आइतबारे ताजपुरियालाई सम्मान गरिएको थियो । 
प्रतिष्ठानका अध्यक्ष सुरेश बहादुर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सह सचिब देवेन्द्र खड्काले गरेका थिए । 

Views: