कोशी प्रदेशको दुई दलीय संयन्त्रले जनमुखी सुशासनको प्रतिबद्धता गर्दै निर्णयहरू सार्वजनिक
विराटनगर, कार्तिक २८ - नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बनेको कोशी प्रदेश स्तरीय दुई दलीय संयन्त्रको पहिलो बैठक नेकपा (एमाले) कोशी प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा सम्पन्न भएको छ। मिति २०८१ साल कार्तिक २७ गते भएको यस बैठकमा विभिन्न महत्वपूर्ण निर्णयहरू सार्वजनिक गर्दै जनमुखी सुशासनको प्रतिबद्धता व्यक्त गरिएको छ।
बैठकले पालैपालो संयन्त्रको अध्यक्षता गर्ने, सार्वजनिक सेवा प्रवाहलाई जनमुखी र सुशासनयुक्त बनाउँदै प्रदेश तथा स्थानीय तहका सरकारहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, र समाजमा व्याप्त अराजकता तथा भ्रष्टाचार अन्त्य गर्न सबै संयन्त्रहरू परिचालन गर्ने निर्णय गरेको छ।
यसका अतिरिक्त, बैठकले नेपाली कांग्रेसको तर्फबाट प्रदेश कार्यसमितिका महामन्त्री उमेश थापालाई संयन्त्र सदस्यमा थप्ने निर्णय गरेको छ। संयन्त्रले एक हप्ता भित्र जिल्ला संयन्त्र गठन गर्ने र २०८१ मंसिर १४ गते शुक्रबार विराटनगरमा प्रदेश सरकारका मन्त्रीहरूका साथ बैठक आयोजना गर्ने निर्णय गरेको छ।
दुई दलीय संयन्त्रको कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन आगामी मंसिर २९ गते विराटनगरमा १४ वटै जिल्लाका संयन्त्र सदस्यहरूको संयुक्त बैठक गर्ने पनि निर्णय गरियो।
नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरूको प्रतिबद्धता: बैठकमा नेकपा (एमाले) को तर्फबाट पूर्व मुख्यमन्त्री शेरधन राई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, र नेकपा (एमाले) प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, साथै नेपाली कांग्रेसका तर्फबाट पूर्व मुख्यमन्त्री उद्दब थापा लगायतका नेताहरू उपस्थित थिए।
प्रतिक्रिया