आज राष्ट्रिय कर दिवस, ‘कर प्रणालीको सार, लगानीको आधार’ नाराका साथ मनाइँदै
आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । कर राजस्व राज्य सञ्चालनको प्रमुख आधार हो ।
आय कर, मूल्य अभिवृद्धि कर, भन्सार महसुललगायत करका नियमित स्रोत हुन् । अहिले कुल करदाताको सङ्ख्या ६२ लाख, ९४ हजार ८ सय २८ छ । त्यसमा व्यावसायिक स्थायी लेखा नम्बर लिनेको सङ्ख्या २० लाख २७ हजार ६ सय ८२ र व्यक्तिगततर्फ ४२ लाख ६७ हजार १ सय ४६ छन् ।
आर्थिक वर्ष २०८०/८१ मा कुल राजस्व १० खर्ब ५८ अर्ब रुपैयाँ असुली भएकोमा आन्तरिक राजस्व विभागको योगदान ५ खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ । जुन कुल राजस्व असुलीको ५० प्रतिशत हो । आन्तरिकतर्फ पनि सबैभन्दा धेरै आयकरको हिस्सा ४५ दशमलव ४० प्रतिशत रहेको छ ।
नेपालमा करदाता मैत्री कार्य प्रणाली अवलम्बन गरी स्वेच्छिक कर सहभागिता बढाउने, कर सहभागिता लागत र सञ्चालन लागत न्यून गर्दै करको दायरा विस्तार गर्ने उद्देश्यले साबिकका कर विभाग तथा मूल्य अभिवृद्धि कर विभागलाई एकीकृत गरी २०५८ साल बैशाख २ गते विभागको स्थापना भएको थियो ।
आन्तरिक राजस्व विभाग अन्तर्गत नेपालमा एउटा ठूलो करदाता कार्यालय, एउटा मध्यम स्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय गरी ८४ वटा कार्यालय सञ्चालनमा छन् ।
राष्ट्रिय कर दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतले शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया