नेपाल उत्पीडित जातीय मुक्ति समाज गौरादह नगर कमिटीको तेस्रो नगर अधिवेशन सम्पन्न
नेकपा एमाले सम्बद्ध नेपाल उत्पीडित जातीय मुक्ति समाज गौरादह नगर कमिटीको तेस्रो नगर अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले डम्बर विश्वकर्मालाई नगर अध्यक्षमा निरन्तरता दिँदै नयाँ कार्यसमिति गठन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि मुक्ति समाजका केन्द्रिय सदस्य सोमनाथ पोर्तेलले जातीय अतिवादविरुद्ध संघर्ष गर्दै स्थापित भएका हक र अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले समतामूलक समाज निर्माणका लागि संवैधानिक अधिकार विरुद्ध कसैले कदम चाल्न नसक्ने बताएका छन्।
कार्यक्रमको अध्यक्षता नगर कमिटी अध्यक्ष अम्बर विश्वकर्माले गरेका थिए।
अध्यक्ष विश्वकर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै नेपालमा ठूला राजनीतिक परिवर्तन भए पनि समाजमा जातीय भेदभाव अझै निर्मूल हुन नसकेको धारणा राखे।
गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले मुक्ति समाजको स्थापनाको प्रशंसा गर्दै वर्गीय समाजमा हुने विभेद अन्त्य गर्न स्वरोजगार कार्यक्रमहरूलाई अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
"कार्यक्रम बनाएर आउनुहोस्, नगरपालिकाले दिल खोलेर सहयोग पुर्याउनेछ," सुवेदीले प्रतिबद्धता जनाए।
विशेष सम्मान
कार्यक्रमको क्रममा इतिहासले बिर्सिएका पात्र बिसे नगर्चीको विषयमा पुस्तक लेख्ने सर्जक दिपेन्द्रराज तिमल्सिनालाई सम्मान गरियो। साथै, अन्तरजातीय विवाह गर्ने जोडीहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।
उल्लेख्य उपस्थिति
अधिवेशनमा प्रदेश सदस्य दल बहादुर दर्नाल, एमाले कोशी प्रदेश सदस्य अम्बर सिवाकोटी, मुक्ति समाज जिल्ला अध्यक्ष तिलक गजमेर, पूर्व क्षेत्र इन्चार्ज शेर बहादुर गजमेर, एमाले नगर अध्यक्ष गजेन्द्र घिमिरे, तथा मुक्ति समाजका विभिन्न पदाधिकारी र दलिय नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
अधिवेशनले जातीय भेदभाव अन्त्य र समतामूलक समाज स्थापनाका लागि नयाँ योजनाहरू अघि सार्ने अपेक्षा गरिएको छ।
नगर कमिटि अध्यक्ष अम्बर बिश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब रोहित सेन्चुरीले गरेका थिए ।
प्रतिक्रिया