भीम रावलसहित तीन नेतालाई एमालेको अनुशासन कारबाही
काठमाडौं — नेकपा एमालेले पार्टी अनुशासन उल्लंघनको आरोपमा पूर्वउपाध्यक्ष भीम रावलसहित तीन नेतामाथि कारबाही गरेको छ। केन्द्रीय सचिवालयको बुधबार सम्पन्न बैठकले रावललाई संगठित सदस्य नरहने गरी कारबाही गरेको छ भने स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन गरेको छ।
विश्लेषकहरूले यसलाई एमालेभित्र आन्तरिक लोकतन्त्र हराउँदै गएको संकेतका रूपमा लिएका छन्। पार्टीभित्र फरक मत राख्ने वा नेतृत्वमाथि प्रश्न उठाउनेलाई 'अनुशासनको डन्डा' प्रयोग गरेर दबाउने रणनीति अपनाइएको भन्दै आलोचना भइरहेको छ।
यो कारबाही पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनरागमनबारे छलफल चलिरहेका वेला भएको हो। पार्टीभित्र देखिएको असन्तोषका कारण नेतृत्वको शैली र निर्णयप्रक्रियामाथि प्रश्न उठ्न थालेको विश्लेषण गरिएको छ।
प्रतिक्रिया