कसरी चिन्ने मनोरोगको संकेत ?
विभिन्न अध्ययनहरुले गाउँमाभन्दा शहरमा मानसिक रोगीहरूको संख्या बढी हुने गरेको औल्याएको छ । यसको मूल कारणको रुपमा गरिबीलाई लिने गरिन्छ । यद्यपि मानसिक समस्याहरु केवल ३३ देखि ४९ वर्ष उमेरका मानिसमा मात्रै नभएर यो जुनसुकै उमेरसमूहका मानिसहरुमा समेत लाग्न सक्ने मनोचिकित्सकहरु बताउँछन् ।
कसरी थाहा पाउने मनोरोगको संकेत ?


मनोचिकित्सकहरुले आ–आफ्नो बुझाई अनुसार मनोरोगको संकेतबारे बताउने गरेका छन् । मनोरोगलाई पनि विभिन्न किसिमले छुट्याउन सकिन्छ । दैनिक गतिविधिहरुमा धेरै खुशी नहुनु पनि एउटा मानसिक समस्याको संकेत हो । धेरै मानसिक समस्या भएका मानिसहरुलाई आफू कहिले खुशी भएको थिएँ ? भन्ने बारेमा समेत जानकारी हुँदैन । एक्लोपन रुचाउनु, आफैंले आफैंलाई घृणा भावले हेर्नु, आफूले आफैंलाई मार्न चाहनु समेत मनोरोगको लक्षण भित्र पर्छ ।
यी चीजहरू बाहेक कुनैपनि सामाजिक सञ्जाल या कतै आत्महत्याको समाचार या प्रयासबारे खोजी गर्नुजस्ता समस्याहरु समेत मानसिक समस्याका संकेतहरु हुन् ।

बेवास्ता गर्दा झनै समस्या
विशेषज्ञहरु मानसिक समस्याको संकेतलाई बेवास्ता गरिँदा यस्ता रोगीहरुमा गम्भीर समस्या देखिने गरेको बताउँछन् । अधिकतर मामलामा रोगीहरु समाजले के भन्छ भन्ने डरका कारण उनीहरु बाहिर देखिन चाहँदैनन् । सुरुवाती चरणमा सामान्य औषधिको प्रयोगले निको हुने भएपनि मानिसहरु ढिला गरी उपचार गर्न आउने गर्दा त्यसले झनै जटिलता थप्ने गरेको जानकारहरु बताउँछन् ।
मनोचिकित्सकहरुका अनुसार मानसिक समस्याको सुरुवाती चरणमा थेरापी, काउन्सिलिङबाट या सामान्य औषधिबाट मात्रै पनि उपचार हुने भएपनि समयमा उपचार गराउन नआउँदा सामान्य औषधिले समेत काम नगर्ने गरेको बताउँछन् । एक मनोचिकित्सकको सल्लाहबाट मात्र औषधिहरू कम वा बढी कुन मात्रामा लिने भन्ने यकीन गर्नुपर्छ ।
मनोचिकित्सकहरुले बिरामीको सामाजिक र आर्थिक स्थिति बारे समेत सचेत हुनुपर्ने हुन्छ । मानसिक अस्पताल पाटनका निर्देशक डा.मोहनराज लाखे मनोचिकित्सकहरुले अरुको तुलनामा धेरै सचेतता अपनाउनुपर्ने बताउँछन् । कुनैपनि मनोरोगीहरु आउने बित्तिकै उनीहरु कुन समाजबाट आएका हुन् ? उनीहरुको शिक्षा र योग्यता के हो जस्ता विषयमा ध्यान दिनुपर्ने उनको बुझाई छ । यस बाहेक, यदि उसलाई कसरी र कुन शैलीमा उपचार गर्ने भन्ने यकीन गरेर मात्रै उपचार सुरु गर्नुपर्ने सुनाउँछन् ।
कुनैपनि मनोरोगीहरु फरक फरक समस्याबाट पीडित हुनसक्छन् । कसैलाई शब्ददेखि नै वितृष्णा हुनसक्छ । कसैलाई रंगदेखि त कसैलाई कसैको व्यवहारदेखि । पहिले त्यसलाई ध्यान दिएर मात्रै उनीहरुको उपचार गर्न सुरु गर्नुपर्छ ।
प्रतिक्रिया