गौरादह नगरपालिकाद्वारा प्रधानमन्त्री उद्धार कोषमा पाँच लाख सहयोग
२१ असोज, गौरादह – अविरल वर्षापछि मुलुकभरि फैलिएको प्रकोपबाट पीडित जनताको सहयोगार्थ गौरादह नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। नगर प्रमुख छत्रपती सुवेदीको नेतृत्वमा भएको संयुक्त बैठकले नगरका जनप्रतिनिधि र कर्मचारीहरूको योगदानमार्फत यो सहयोग जुटाउने निर्णय गरेको हो।
सुवेदीका अनुसार नगर प्रमुख, उप-प्रमुख, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, लगायत सबै जनप्रतिनिधिले पाँच दिनको सेवा सुविधाबाट योगदान दिने भएका छन्। नगरका कर्मचारीहरूले अवस्था अनुसार तीन दिनसम्मको तलबबाट कोषमा सहयोग गर्ने निर्णय भएको छ।
नगर प्रमुख सुवेदीले भने, “यस्तो विपद्को घडीमा हाम्रो सानो सहयोगले पीडित जनतालाई राहत पुगोस् भन्ने हाम्रो उद्देश्य हो। भोलिनै यो रकम कोषमा जम्मा गरिनेछ।”
हालैको अविरल वर्षाका कारण देशका विभिन्न भागमा ठूलो धनजनको क्षति भएको छ, जसका कारण सरकारले उद्धार कोषमा सहयोग गर्न आह्वान गरेको छ। यसअघि मन्त्रिपरिषद्ले प्रारम्भिक रूपमा एक अर्ब रुपैयाँ उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो भने विभिन्न संघ-संस्था र व्यक्तिहरूबाट सहयोगको क्रम जारी रहेको छ।
गौरादह नगरपालिकाको यो सहयोग स्थानीयस्तरमा सरकारप्रति जनप्रतिनिधि र कर्मचारीहरूको जिम्मेवारीको अभिव्यक्ति भएको छ, जसले विपद्को समयमा एकताबद्ध भएर कार्य गर्न सबैलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया