d

हल्दिबारी गाउँपालिकामा २५ सय बिघामा तोरी खेती

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ। गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिए। गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो।

प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक टन तोरी उत्पादन प्रारम्भिक अनुमान गाउँपालिकाको छ। हल्दीबारीमा तोरी खेतीका लागि माटोसमेत उपयुक्त छ। अहिले यहाँका खेत तोरी फुलेर पहेँलपुर भएका छन्।

हल्दीबारी २ का कृषक डम्बरप्रसाद चम्लागाईंले तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने विश्वास व्यक्त गरे। ‘अरू बालीमा जस्तो झन्झट छैन’, उनले भने, ‘मूल्य पनि राम्रो छ।’ गत वर्ष प्रतिमन ६ हजारमा तोरी बिक्री भएको उनले बताए। यो वर्ष झापाभरिमा सबैभन्दा बढी हल्दीबारीमा तोरी खेती गरिएको छ।

तोरी मिल सञ्चालन गर्दै सहकारी

यता, हल्दीबारीमा एकता बहुउद्देश्यीय सहकारीले तोरीको तेल उत्पादन र प्रशोधन सुरु गरेको छ। कृषकले उत्पादन गरेको तोरी खरिद गरेर तेल उत्पादन तथा बिक्री वितरण गरिरहेको संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारीले बताए।

‘किसानले उत्पादन गरेको तोरी खरीद गरेर तेल उत्पादन गरिरहेका छौँ’, उनले भने, ‘सहुलियतमा किसानलाई कृषि सामग्री र मल–बीउ पनि उपलब्ध गराउने गरेका छौँ।’ कृषकलाई तोरी खेती गर्न प्रौत्साहनसँगै उत्पादनलाई बजारीकरण गर्नका लागि तेल मिल सञ्चालन गरेको उनको भनाइ छ।

Views: