d

'झापा प्याब्सनको आँखामा परेनन् सामाजिक विषयका विज्ञ शिक्षक' www.pardaphas.com

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापा प्याब्सनले हाल जिल्लाव्यापी रूपमा कक्षा ९ को परीक्षा सञ्चालन गरिरहेको छ । वार्षिक परीक्षा अन्तर्गत आज सम्पन्न  सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत रहेको पाठ्यक्रम बिकास केन्द्रले प्रकाशन गरेको विशिष्टिकरण तालिका अनुसार निर्माण नभएको पाइएको छ । 
विशिष्टिकरण तालिकाले धेरै छोटो, छोटो, र लामो प्रश्न गरि तीन खण्डको प्रश्नपत्र निर्माण गर्नुपर्ने उल्लेख गरेको छ ।

झापा प्याब्सनको प्रश्नपत्रमा खण्ड 'क' मा ११ वटा प्रश्न मध्ये २ वटा प्रश्न  हिन्दु धर्म सम्बन्धि रहेका छन् भने खण्ड 'ख' को ४ अंक आउने प्रश्न नम्बर २० मा पुनः धर्म सम्बन्धि नै प्रश्न राखिएको छ ।  यसो गर्दा विशिष्टिकरण तालिकाको मापदण्ड पूरा नभएको विज्ञहरु बताउछन् । त्यति मात्र होईन समूह 'ग' मा ४ वटा प्रश्न रहन्छन् । ४ वटा प्रश्नहरु आर्थिक कृयाकलाप, हाम्रो विगत, नागरिक सचेतना र हाम्रो भूगोलबाट हुनुपर्ने  विशिष्टिकरण तालिकाको भावना अनुसार देखिदैन । 

यस सम्बन्धमा हामीले सामाजिक र नेपाली भाषा विषयका शिक्षकहरु सँग प्रश्नपत्र बारे जिज्ञासा राख्दा वहाँहरुको भनाइ जस्ताको त्यस्तै: 

होमराज खतिवडा अध्यक्ष: इस्टु झापा:   मैले प्रश्नपत्र मसिनो गरि अध्ययन गरें । प्रश्नपत्र विशिष्टिकरण तालिका अनुसार निर्माण नभएको देखिएको छ। अन्तराष्ट्रिय सम्बन्ध पाठबाट ४ अंकको प्रश्न सोधिएको छैन । नागरिक सचेतना पाठबाट ७ अंकको प्रश्न कता छुट्यो ? यसलाई सामान्य गल्तीको रूपमा लिन मिल्दैन । झापा प्याब्सनले मनन गरोस् ।

 

लक्ष्मीप्रसाद कोइराला नेपाली शिक्षक गोल्डेन सनराइज मा. वि. :

 'उत्तर तिर वा दक्षिण तिर जताबाट प्रश्नपत्र बनाएको भए पनि यो प्रश्नपत्र विशिष्टिकरण तालिका अनुसार निर्माण नभएकै देखिन्छ । प्याब्सन जस्तो जिम्मेवार निकायले सञ्चालन गरेको परीक्षामा प्रश्न उठाउनु पर्दा दु:ख त लाग्ने नै भयो । प्रश्नपत्र निर्माण गर्दा एकातिर भाषिक शुद्धतालाई ध्यान दिनुपर्छ भने विशिष्टिकरण तालिकालाई टेकेर प्रश्नपत्र बनाइनु पर्छ । भाषिक शुद्धता तर्फ हेर्दा यो प्रश्नपत्रमा केहि लेख्य चिन्हको प्रयोग छुटेको देखिन्छ, केहि वर्णविन्यास उचित नभएको देखिन्छ भने पञ्चमवर्णको नियम समेत प्रयोग गरेको देखिएन' ।

 

सन्जिब कार्की, सामाजिक शिक्षक माउन्ट एभरेष्ट मा. वि. गौरादह : प्रश्नपत्र हेर्दा त्रुटिपूर्ण लाग्यो । झापा प्याब्सनको आँखामा सामाजिक अध्ययन विषयका विज्ञहरु पहिचान गर्न नसकेको जस्तो लाग्यो । हामीले विशिष्टिकरण तालिका अनुसार नै विद्यार्थीहरुलाई अध्यापन गराएका हुन्छौं । यो प्रश्न देख्दा आफूलाई सामाजिक विषयको शिक्षको हुँ भन्न पनि सरम लाग्यो । 

योगेस न्यौपाने , शिक्षक: सामाजिक अध्ययन , ग्लोबल एजुकेशनल एकेडेमी दमक: 'मैले सामाजिक अध्ययन विषय अध्यापन गराएको दुई दशक बित्न लाग्यो । अहिलेसम्म यस्तो लापरबाहीपूर्ण प्रश्नपत्र देखेको थिएन । यो त विद्यार्थीको भविष्य माथिको प्रत्यक्ष खेलवाड भएको कुरा हो । यसलाई सतही रूपमा लिन मिल्दैन । सम्बन्धित निकायले गम्भीरतापूर्वक लिनु पर्यो । '

 

 

 

Views: