d

गौरादह पोखरी निर्माण सुरु, कस्तो बन्दैछ पोखरी ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

पर्दाफास/ चैत्र ३०/ झापा: 

गौरादहका पोखरीहरु वर्षौं देखि निर्माण हुने चर्चामा छन् । पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने भन्दै पटकपटक यसलाई चुनावी नारा बनाइयो तर निर्माण कार्यमा कतैबाट बजेट जुट्न सकेको थिएन । पटकपटक उपभोक्ता समिति फेरबदल गरिए । नगरपालिकाले एक्लै बनाउने पनि भन्यो । १३ बिगाहा क्षेत्रफल रहेको पोखरी स्थानीय बजेटले धान्न सक्ने अवस्था पनि थिएन । अन्ततः संविधानसभा सभासद दिपक कार्कीको अध्यक्षतामा बनेको समितिले २०७५ सालमा नयाँ डिपिआर गराइ आवश्यक बजेटकालागि संघीय सरकारमा पेश गर्यो जसलाई वृहत्  निर्माण योजनाको महत्त्वपूर्ण फड्को मानिन्छ । पहिलो चरणमा करिब ४ करोड विनियोजन पनि भयो तर बजेट फ्रीज भयो काम हुन सकेन ।  प्राविधिक कारणले काम नभएको भनियो । प्रयास जारी रहेकै बेला एमाले नेता हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्री बनेपछि यो विषयले थप चर्चा पायो । कार्कीकै पहलमा ४ करोड विनियोजन गरियो । पुनः कार्की नेतृत्वको सरकार ढल्यो । सरकार ढलेपछि नयाँ सरकारले बजेट कटौती गर्लाकी भन्ने चिन्ता थियो तर बजेट कटौती हुन पाएन । अन्ततः सोही बजेटबाट अहिले पोखरीको प्रथम चरणको काम सुरु भएको छ । 

 

कुल १३ बिगाहा क्षेत्रफलमा फैलिएका गौरादहका पोखरीहरु निर्माण भइ आकर्षक पर्यटकीय स्थलको रूपमा विकास हुने भएपछि स्थानीयहरु हर्षित छन् । 

 

 इबिडिङ ठेक्का प्रक्रियाबाट पोखरी निर्माण गर्ने जिम्मा मोरङको डिजे निर्माण सेवाले पाएको छ । ४ करोड बजेटको इबिडिङ गर्दा उक्त निर्माण कम्पनी सँग  भ्याट सहित ३ करोड ६ लाखमा ठेक्का सम्झौता गरिएको छ । 

 

भ्याट बाहेक २ करोड ८५ लाखमा बिलो रेटमा ठेक्का लिएको डिजे कन्स्ट्रक्सनले पोखरी निर्माण कार्यलाई द्रुतगतिमा अगाडि बढाएको देखिन्छ । 

 

दैनिक ६/७ वटा जेसिबी निरन्तर काम गरिरहेका हुन्छन् । यसै हप्ता देखि दक्षिण साइडबाट जाली ढुंगाको काम पनि तत्काल सुरु गर्ने डिजे निर्माण सेवाका सञ्चालक जीवन रिजाल  बताउछन् ' । 

असार १५ भित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता पाएको डिजे निर्माण सेवालाई पानी पर्नु अगाडि नै सम्झौता अनुसारको काम सक्नै पर्ने बाध्यता छ । 

'हामी समय भन्दा अगाडी नै भनेजस्तो गरि काम सक्नेछौं ।,  रिजाल  भन्छन् ' ।

 

के के छ सम्झौतामा? 

 

'ठेक्का सम्झौता अनुसार पोखरीको गहिराई १३ फीट हुनेछ । पोखरीको वरिपरि ३३ फिट (१० मिटर ) चौडाइको कच्ची बाटो निर्माण हुनेछ । १०९० मिटर ग्याभिङ ( ढुङ्गा जाली ) गरिने छ ।', 

 

 ठेक्का सम्झौता गर्दै समयसिमा निर्धारण गरिएकाले वर्षा अगाडी नै पोखरीको लेभलिङ गर्ने,  जाली ढुंगा गर्ने र कच्ची सडक निर्माण गर्ने कार्य सम्पन्न भए पश्चात पोखरीले निश्चित आकार लिने वडाध्यक्ष नगेन्द्र भण्डारीको भनाई छ । 

 

प्रदेश सरकारले विनियोजन गरेको ४ करोड बजेट भने पर्याप्त नहुने वडाध्यक्ष भण्डारी बताउछन् । 

 

 करिब ३० करोडको लागतमा पोखरीलाई पूर्ण रूपमा निर्माण गर्न सकिन्छ भनेर डिपिआर तयार भएको छ । अपुग बजेटको लागि बहुवर्षीय योजनाको रूपमा प्रदेश सरकार मै पहल गरिसकिएको छ ।

समपुरक योजना अन्तर्गत निरन्तर  बजेट विनियोजन हुनेछ । अब निर्माण रोकिदैन । पोखरीलाई पर्यटकीय स्थलको रूपमा बिकास गर्न इमान्दारीता साथ लागेका छौँ ', भण्डारीले भने । 

 

पोखरी निर्माण सुरु हुँदा खानेपानीमा समस्या

 

गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सँग साढे ४ लाख लिटर र अढाई लाख लिटर पानी अट्ने क्षमताका २ वटा ट्यांकी छन् ।   प्रशोधन गर्दा दैनिक रूपमा ३/४ लाख लिटर आइरनयुक्त पानी निस्कने गरेको छ । उक्त पानीलाई खानेपानीको सिमाना जोडिएको पोखरीमै पठाउने गरिएको थियो । जब पोखरीको निर्माण सुरु भयो खानेपानी उपभोक्ता समितिलाई पानी निकासा गर्न टाउको दुखाइको विषय बन्न पुग्यो । 

 

विकल्प खोज्दै जाँदा समितिले गौरादहका ढलहरु प्रयोग गर्ने निर्णयमा पुगेको छ ।

 

 'ढलहरु पनि सफा छैनन् । ढल सफा गर्ने जनशक्ति पनि नभेटिने रहेछ ।', कार्यवाहक कार्यालय प्रमुख सरिता दाहाल बताउछिन् । 

 

'तीन वटा पोखरी मध्ये एउटा पोखरीमा पानी डम्पिङ गर्न सकिन्छ कि भनेर छलफल चलाइयो तर पोखरी निर्माण कम्पनीले  निर्माणमा बाधा पुग्ने वताएपछी उपयुक्त  विकल्पको खोजीमा छौँ ।', उपभोक्ता समितिका सचिब जगत कार्की बताउछन् । 

Views: