d

जगत गौरी परोपकार केन्द्रको वार्षिक उत्सव

Views:
Responsive Image Gallery
Responsive Image Gallery

५ जेठ २०८१, शनिवार

झापा: गौरादहका सर्मिला, कृष्ण र अविनास आमाबाबु विहिन अनाथ बालबालिका हुन् । बाल्यकालमै मातापिताको वात्सल्यता बाट विमुख भएका यी अबोध बालबालिकाहरु हाल गौरी परोपकार केन्द्रमा बस्छन् । मातापिताको ममताबाट टाढिएका उनीहरुलाई मातृवात्सल्यता दिएकी छिन् गौरादह १ बजार निवासी कविता बस्नेतले । आफ्नै निजि जमिनमा रहेको घरलाई उनकै पहल र प्रयत्नमा अनाथ आश्रम बनाइएको छ । सहाराविहिन बालबालिकाको लागि जीवन समर्पण गर्ने एक मात्रै उद्देश्य लिएकी कविता आफू पनि एकल महिला हुन् । उत्तम कटुवाल सँग विवाह बन्धनमा बाँधिएकी कवितालाई छोटो समय मात्रै श्रीमानसँग बस्ने मौका मिल्यो ।  पिता स्व. जगत बहादुर बस्नेत र माता स्व. गौरि बस्नेतकि एकमात्र सन्तान कविताले श्रीमानसँग अलग भएर माइतीघरमै बसिन् । वृद्ध मातापिताको सेवा गरेरै बस्ने अठोट गरिन्  । वृद्ध मातापिताको देहान्त भयो । ऊनी पुनः एक्ली भईन् ।  एकातिर मातापिताको वियोग अर्को तिर आफू निसन्तान हुनुको पीडाले छटपटाएकी कवितालाई आफ्नो पैत्रिक सम्पत्ति अनाथहरुको सेवामा लगाउने भोक जाग्यो । उनले समाजका केहि बौद्धिक व्यक्तित्वहरु सँग सल्लाह गरिन् ।  अन्तत: कविता कै पहलमा मातापिताको नाममा जगत गौरी परोपकार केन्द्रको स्थापना गरियो । परोपकार केन्द्रको स्थापनामा सहयोग गर्नेहरु प्रती उनी कृतज्ञ छिन् । 

अनाथ बालबालिकाहरुलाई सहारा दिने उद्देश्यले स्थापित यस केन्द्रमा हाल उनै सर्मिला, कृष्ण र अविनास 
३ जना बालबालिकाले आश्रय पाएका छन् । जम्मा ४ जना बालबालिका रहेकोमा एकजनालाई आफन्तले लिएर गएको बताइन्छ । 

'मानिसले निदाएको बेला देखेको सपना पूरा होला नहोला तर ब्युँझेको बेला देखेको सपना अवस्य पूरा हुँने रहेछ ।', केन्द्रको अध्यक्ष समेत रहेकी कविताले भनिन् । 
 
यस परोपकार केन्द्रमा  हाल ३ जना बालबालिकाहरुलाई संरक्षण दिइएको भएता पनि १० जनासम्म अनाथ बालबालिकालाई सहारा दिन सक्ने आफुहरु सँग क्षमता रहेको कविताको भनाइ छ । 

'आर्थिक स्रोत त छैन तर पनि दाताहरूको सहयोगमा १० जना बालबालिकालाई धान्न सक्ने विश्वास छ ।', उनले भनिन् । 

त्यसो त अनाथहरुलाई राख्ने भनिएको आश्रमको भौतिक अवस्था भने त्यति उत्तम देखिदैन । वर्षादको समयमा पानी चुहिन्छ । आगनमा पानी जमेर उस्तै समस्या हुने गरेको छ । वडा कार्यालय र नगरपालिकाले आर्थिक सहयोग गरिदिए पुरानो भवनलाई जिर्णोद्वार गर्न सकिने सञ्चालकहरुले अपेक्षा लिएको पाइन्छ । 

केन्द्रमा आश्रय लिएका तीनै जना बालबालिकाहरु स्थानीय जनता मा. वि. मा अध्ययनरत छन् । 

अनाथ आश्रमको स्थापनाको एक वर्ष पूरा भएको छ । 

वार्षिक साधारणसभा सम्पन्न 

गतवर्ष आजैको दिन बाट सेवा सुचारु गरेको यस यस केन्द्रको वार्षिक साधार सभा सम्पन्न गरिएको छ ।  संस्थाको एक वर्षे उपलब्धिहरु बारे जानकारी गराउदै वार्षिक उत्सव सम्पन्न गरिएको हो । 

वडा नम्बर १ स्थित राधाकृष्ण मन्दिर को सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका गतिविधिहरु बारे जानकारी गराउदै आगामी योजनाहरुको बारेमा चर्चा गरिएको थियो । 

उक्त अवसरमा कोषाध्यक्ष विमला राइले वार्षिक आय व्यय प्रस्तुत गर्दै संस्था सँग करिब ५३ हजार नगद रहेको जानकारी गराइन् । 
 संस्थामा हाल ७ जना आजीवन सदस्य रहेका र हरेक आजीवन सदस्यबाट संकलित  ५१ /५१ सयबाट बच्चाहरुको पालपोषण भइरहेको बताइन् । वडा नम्बर ३ का समाजसेवी तथा धार्मिक व्यक्तित्व पुष्प अधिकारीले वार्षिक रूपमा ५ मन धान सहयोग गर्दै आउनु भएको समेत राईको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।  

नगर प्रमुख छत्रपती सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुवेदीले यस केन्द्रलाई  आवस्यक पर्ने सहयोगको लागि नगरपालिका सदैव तत्पर रहेको बताए । 

सामाजिक संघ / संस्थाहरुलाई सहयोग गर्नु नगरपालिकाको दायित्व हो । 

 'प्रक्रियागत तवरले तपाईंहरु आउनुहोस् आवस्यक सहयोगको लागि नगरपालिका तत्पर छ ।', मेयर सुवेदीले भने । 

कार्यक्रममा समाजसेवीहरु प्रेमा घिमिरे, भिमा उप्रेती, सरिता कटुवाल , गङ्गा कार्की, कुमार अधिकारी तथा  पत्रकार सान नेपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
 
केन्द्रकि अध्यक्ष कविता बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिब रमेश भट्टराईले गरेका थिए ।

Views: