d

इस्टु द्वारा प्याब्सन मोरङको कार्यालयमा तालाबन्दी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विराटनगर / संस्थागत विद्यालय शिक्षक युनियन जिल्ला कार्य समिति मोरङले प्याब्सन मोरङको कार्यालयमा तालाबन्दी गरेको छ । विराटनगरस्थित प्याब्सन मोरङ जिल्ला समितिको कार्यालयमा संस्थागत विद्यालय शिक्षक युनियन जिल्ला कार्य समिति मोरङका अध्यक्ष मनोज खनालको नेतृत्वमा गएको टोलीले आइतबार तालाबन्दी गरेको हो । कोभिड–१९ को प्रभावका कारण निजी विद्यालयका सञ्चालकहरुले थोरै भए पनि दशैंमा तलब दिने भने पनि तलब नपाएपछि तलाबन्दी गर्नुपरेको खनालले बताए । “प्याब्सनसँग गरेको सहमति निजी विद्यालयहरुले कार्यान्वयन नगरेपछि तालाबन्दी गर्नुपरेको हो,” उनले भने, “दशैं भित्रिसक्दा पनि तलब नपाउँदा कसरी दशैं मनाउने भन्ने चिन्ता छाएको छ ।” निजी विद्यालयका सञ्चालकहरुसँग शिक्षकहरुको तलबका लागि पहल गराइदिन बारम्बार ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराउँदै आइरहे पनि सुनुवाई नभएको उहाँले बताउनुभयो । शिक्षकलाई निजी विद्यालयका सञ्चालकबाट तलब दिलाउन नसकेको कारण तालाबन्दी गर्नुपर्ने बध्यता भएको इस्टुका विराटनगर समितिका अध्यक्ष रमेश पाण्डेले बताए । प्याब्सन नगर र प्याब्सन मोरङ समितिका जिम्मेवार पदाधिकारीहरुले खोक्रो आश्वासन मात्रै दिने तर आफ्नो दायित्वबाट भाग्ने गरेको उनले आरोप लगाए । निजी विद्यालयका शिक्षकहरुले २०७६ चैतदेखि २०७७ असोजसम्मको बाँकी बक्यौतासहितको तलब, भत्ता र दशैं पेश्की उपलब्ध नभएसम्म ताला नखोल्ने चेतावनी दिएका छन् । शिक्षकको टोलीले आइतबार श्रम कार्यालय विराटनगरमा पुगेर श्रम ऐनबमोजिम कारबाहीका लागि पहल गरिदिन आग्रह गरेको छ । माग सुनुवाई नभए अझै कडा आन्दोलनमा उत्रिन बाध्य हुने महानगर समितिका अध्यक्ष पाण्डेको भनाइ थियो । “तत्काल हाम्रो माग पूरा नभए विद्यालय सञ्चालकको घरमै गएर धर्ना दिन पनि पछि पर्दैनौं,” पाण्डेले भने, “दशैंमा हाम्रा बालबच्चालाई नयाँ लुगा फेरिदिनेसमेत अवस्था छैन ।”

Views: