d

लेनदेन काण्डमा मुछिएका नारायण काजी आफ्नै बचाउमा लागे

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै एउटा लेनदेनको विषयमा नेकपा प्रवक्ता नारायाणकाजी श्रेष्ठ मुछिएका छन् । एक जलविद्युत् कम्पनीको सेयर विवाद मिलाउने विषयमा श्रेष्ठ र लामाबीचको छलफलको अडियो र भिडियो लामाको परिवारले सार्वजनिक गरेपछि प्रवक्ता श्रेष्ठमाथि प्रश्न उठेका छन् । 

 

भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषयमा छलफल भएको देखिन्छ । श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम पनि उल्लेख छ । भिडियोमा कर्माचार्य र लामाबीचको सेयर विवाद मिलाउन श्रेष्ठले सुझाव दिएका छन् ।
प्रवक्ता श्रेष्ठले यसमा आफ्नो कुनै संग्लनता नरहेको र उनीहरुकै आग्रहमा विवाद मिलाउन सहजीकरण मात्रै गरिदिएको बताएका छन् । ‘म यसमा कुनै ढंगले आर्थिक लेनदेन वा योजनासँग सम्बन्धित हैन । कमानजीसँग मेरो कुनै लेनदेन पनि छैन । याम्लादिङ् हाईड्रोपावर योजना र कमानजीबीचमा समस्या आएपछि केही गर्न सकिन्छ कि भनेर मिलाइदिन खोजेको हो, त्यो पनि कमानजीको आग्रहमा । अहिले जे अडियो भिडियोको कुरा छ, त्यो छलफलमा तपाईंहरु मिल्नुस् भनेको हुँ,’ श्रेष्ठले भने, ‘त्यसबाहेक मेरो कुनै सम्बन्ध छैन । त्यसैले नेपाली कम्युनिष्ट आन्दोलन र नेपालको राजनीतिमा भ्रष्टाचार र भ्रष्टीकरणविरुद्ध मैले जो संघर्ष गर्दै आइरहेको छु, त्यसलाई कमजोर बनाउन नियोजित प्रहारमात्रै हो ।’
स्रोतका अनुसार विवादको विषय बनेको याम्बालिङ हाईड्रोपावर लामा आफैंले दर्ता गरेका थिए । कर्माचार्यको टिमले हाइड्रोको दुई करोड ५० लाखको सेयर किनेको थियो ।

तर, पछि करिब तीन करोड बैंकको ऋण चुक्ता गर्नुपर्ने समस्या देखिएपछि याम्बालिङ हाइड्रो कम्पनी जमानी बसेर बैंकबाट दुई करोड ऋण लिइएको र त्यही ऋण मिलान गर्ने विषयमा कर्माचार्य र लामाबीच विवाद भएको थियो ।
विवाद नटुंगिएपछि लामा नेकपा अध्यक्ष पुष्पकमल दाहालकहाँ समेत पुगेका थिए । स्रोतका अनुसार दाहालले लामा र कर्माचार्यलाई दुई–तीनपटक सँगै राखेर विवाद मिलाउन सुझाव दिएका थिए । समस्या हल नभएपछि लामाले छोरामार्फत विवाद टुङ्ग्याउन कानुनी प्रक्रिया खोजेका थिए ।
लामाको कोरोना संक्रमणबाट शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहान निधन भएको थियो । कोरोना भाइरस संक्रमणका कारण १६ दिनदेखि अस्पतालमा उपचाररत हुँदा उनले यस विषयमा फेसबुकमा समेत लेखेका थिए । कान्तिपुरमा खबर छ ।
Views: