d

अवसरबादी र विभाजनकारीहरुका कारण पार्टी एकता टिक्न सकेन - ओली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र एमाले नेता माधवकुमार नेपालका कारण नेकपाको एकता टिक्न नसकेको दाबी गरेका छन्। एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको सोमबार बसेको पहिलो बैठकमा अध्यक्ष ओलीले २१ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दै तीन वर्षदेखि जारी एकीकृत पार्टी निर्माणको प्रयास बीचैमा टुंगिएको बताएका हुन्।
ओलीले नेकपा (एमाले) का कतिपय नेताहरु आफ्नै पार्टी नेतृत्वलाई कमजोर गर्न प्रचण्डका अस्वाभाविक महत्वाकाङ्क्षालाई मलजल गर्ने र नाजायज मागलाई प्रोत्साहन गर्ने काममा सङ्लग्न भएको टिप्पणी गरेका छन्। उनले प्रतिवेदनमा भनेका छन्, ‘माधव नेपाल लगायत नेकपा (एमाले) का केही नेताहरुको कुण्ठापरस्त, निहित स्वार्थप्रेरित र गुटगत क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको छ। यसरी पार्टी एकतालाई दुर्घटनामा पुर्याउने प्रचण्डको अवसरवाद र विभाजनकारी भूमिकाका साथै माधव नेपालहरुको हानीकारक प्रवृत्तिको पनि खण्डन र आलोचना गर्नुपर्छ।’
संसदमा मुख्य विपक्षी नेपाली काङ्ग्रेस यतिबेला अन्यौलबाट गुज्रिरहेको उनको प्रतिवेदनमा उल्लेख छ। ‘नेकपाको विभाजनका कारण निर्वाचनबाट आफू लाभान्वित हुने आँकलन गरिरहेको यो पार्टी नयाँ निर्वाचनको पक्षमा भने उभिन सकेको छैन।’ प्रतिवेदनमा भनिएको छ, ‘निरन्तर प्रयास गरे पनि उसले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन पनि सकिरहेको छैन। नेपाली काङ्ग्रेसको यस्तो द्विविधा र काङ्ग्रेसभित्र गुटैपिच्छको भिन्नाभिन्नै मतले राजनीतिलाई अन्यौलग्रस्त बनाइरहेको छ।’
ओलीले नेकपा (माओवादी केन्द्र) प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउने र नेकपा (एमाले) लाई विभाजन गर्ने एकसूत्रीय अभियानमा केन्द्रित प्रतिवेदनमा उल्लेख छ। ‘ऊ विदेशी शक्तिका लागि 'कम्फर्टेबल सरकार' बनाउन तयार छ। प्रधानमन्त्रीको प्रस्ताव बोकेर विभिन्न दलहरुको ढोकामा पुग्छ। आफू नेकपा (एमाले) समेतको समर्थनबाट विजयी भएको तथ्यलाई लत्याउँदै राजनीतिक स्थायित्वका पक्षमा उभिएका नेताहरुलाई कार्बाही गर्छ। बेलाबेलामा प्रचण्डवाट प्रकट हुने 'अर्को जनयुद्ध', 'अर्को विद्रोह' का अभिव्यक्ति हताशाका अभिव्यक्ति बाहेक केही होइनन्।’ प्रतिवेदनमा भनिएको छ,‘वाह्य शक्तिको आडमा मुलुकमा राजनीतिक अस्थिरता फैलाउने, जातीय-क्षेत्रीय द्वन्द्व चर्काएर राजनीतिक अभीष्ट पूरा गर्ने र प्रत्येक राजनीतिक दलहरुभित्र विभाजन ल्याउने र यसबाट आफनो स्वार्थसिद्धि गर्न अभ्यस्त कतिपय नेताहरु यी दाउपेच निष्प्रभावी हुँदै गएका कारण अतालिएका छन्।’
ओलीले सङ्कटको घडीमा पार्टी पङ्ति र नयाँ पुस्ता दृढतापूर्वक नेतृत्व र आन्दोलनको रक्षामा उभिएको स्पष्ट पारेका छन्। उनले पूर्व माओवादी पृष्ठभूमिका धेरै नेता कार्यकर्ता राजनीतिक जोखिम मोलेर आन्दोलनको प्रतिरक्षा र एकतामा दह्रो गरी उभिएको, प्रतिबद्ध नेता कार्यकर्ताहरुको सक्रियता र आम जनताको साथ- सहयोगले आज कम्युनिष्ट आन्दोलन षडयन्त्रको उक्त चक्रव्यूहबाट बाहिर आउन सफल भएको दाबी गरेका छन्।
ताजा जनादेशका लागि निर्वाचनमा जान तयारी रहनु
अध्यक्ष ओलीले ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने अवस्था सिर्जना हुन सक्ने सम्भावनालाई ध्यानमा तयारी अवस्थामा रहन पार्टीका नेता तथा कार्यकर्तालाई अपील गरेका छन्। उनले अहिले प्रतिनिधिसभा न त सरकारलाई काम गर्न वातावरण उपलब्ध गराउन सक्ने, न वैकल्पिक सरकार नै दिने अवस्थमा पुगेको प्रतिवेदनमा उल्लेख गरेका छन्।
‘हिजोको एकता राजनीतिक हिसाबले भत्किएको छ, तर कानुनी हिसाबले नयाँ एकता, समीकरण या गठबन्धन निर्माण हुन सकिरहेको छैन। राजनीतिक अन्यौल र अनिश्चितता बढिरहेको छ। हाम्रो पार्टी एकातिर अदालतको आदेश अनुसार विद्यमान प्रतिनिधिसभाभित्रैबाट राजनीतिक स्थिरता कायम गर्न अधिकतम प्रयत्न गरिरहेको छ, सकारात्मक शक्तिहरुसँग लचकतासाथ सहकार्य गदै लोकतान्त्रिक उपलब्धिहरुको रक्षाका लागि क्रियाशील रहेको छ। तर सत्ता टिकाइराख्नकै लागि अलोकतान्त्रिक, असैद्धान्तिक र राजनीतिक नैतिकतासँग मेल नखाने कुनै पनि काम भने पार्टीबाट हुने छैन।’ प्रतिवेदनमा भनिएको छ,‘पार्टी संविधानसम्मत ढङ्गले आउने कुनै पनि चुनौतीलाई सहजतापूर्वक सामना गर्न र तदनुरुपको भूमिका निर्वाह गर्न तत्पर छ। तर स्थितिको विश्लेषण गर्दा कुनै पनि बेला ताजा जनादेशका लागि निर्वाचनमा जानु पर्ने अवस्था सिर्जना हुन सक्ने संभावनालाई ध्यानमा राख्दै समग्र पार्टी पङ्क्ति हमेशा यसका लागि तयारी अवस्थामा रहनु आवश्यक छ।’
प्रधानमन्त्री ओलीले सरकारले तीन वर्षमा गरेका काम कारबाहीलाई आफ्नो प्रतिवेदनमा समेट्दै उत्साहपूर्ण ढंगले काम गरेको दावी गरेका छन्।
अन्नपुर्ण पोस्टमा खबर छ। 
Views: