d

हस्ताक्षर लिएर गठबन्धन सांसद शीतल निवासतर्फ, ओली सरकार अप्ठ्यारोमा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी गर्ने भएका छन् । दिउँसो सिंहदरबारमा बसेको विपक्षी गठबन्धनको बैठकले १५० सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेश गर्न लागेको हो । 
स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी १५० सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेता शीतल निवास हिँडिसकेका छन् । 
विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले खनाल–नेपाल समूह  र जसपाको उपेन्द्र यादव समूह रहेको छ । यो गठबन्धनमा सहमति भएपछि दाबी प्रस्तुत गर्न सांसद शीतल निवास गएका हुन् । संसद्‍को २७५ सिटमध्ये प्रधानमन्त्रीको लागि आवश्यक बहुमत पुग्न १३६ भए पुग्छ । 
माओवादी केन्द्रको ४९, कांग्रेस ६१, जसपा उपेन्द्र यादव समूह १५ र माधव नेपाल समूहको २० देखि २८ जनासम्म सांसद हुँदा विपक्षी गठबन्धनमा पर्याप्त बहुमत पुग्छ ।  
संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेताको हैसियतले अल्पमतको प्रधानमन्‍त्री बनेका ओलीको सिफारिस बमोजिम राष्ट्रपति विद्या भण्डारीले  ७६ (५) अनुसार नयाँ सरकार बनाउन बिहीबार २१ घन्टे म्याद दिएकी हुन् । उक्त म्याद शुक्रबार साँझ ५ बजे सकिँदै छ । त्यसअघि नै विपक्षी गठबन्धनका नेता शीतल निवास गएका हुन् ।
ओलीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नै नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गर्ने बताइसकेका छन्। ओलीले आफूसँग १२१ संख्या रहेको भन्दै यस्तो दाबी गर्ने बताएका हुन् । यद्यपि यता खनाल–नेपाल समूहले विपक्षी गठबन्धनबाट हस्ताक्षर बुझाएका छन् । यसले ओली सरकार अप्ठेरोमा पर्ने देखिएको छ । अन्नपुर्ण पोस्ट ।
Views: