d

पर्दाफास संपादकिय: धानको भाउ र गाउँको सिंह दरबार

Views:
Responsive Image Gallery
Responsive Image Gallery
 
झापा: महंगो बिउ, महंगो मल, महंगो सिचाइ र महंगो टेक्नोलोजीले उत्पादन गरेको धान बेच्ने बेलामा बिचौलियाको चलखेल हुन थाल्नु निश्चय नै आम किसानको लागि दुर्भाग्यपूर्ण पक्ष हो ।
 विकेन्द्रीकरणको राजनीतिक व्यवस्थाले गाउँमा सिंह दरवार त पठायो सिंह दरवारका संचालकहरुलाई कसी लगाउने कुनै योजना ल्याउन सकेन । गणतन्त्रले ३ तहको सरकार त दियो तर सरकार संचालकलाई जनताको लागि काम गर्ने कि निजि धन्दालाई प्राथमिकता दिएर निरीह जनताको श्रम शोषण गर्ने भन्ने विषयमा अलमलिने भन्ने नै थाहा भएको देखिदैन । 
गौरादह नगरपालिकाको मात्र कुरा गर्ने हो भने नगरपालिकाले किसानको हितमा कुनै नीति नियम निर्धारण गर्न सकेको देखिदैन । न त समयमा मल न त समयमा बीउ । महंगो सिचाइ अनि आधुनिक टेक्नोलोजी प्रयोगलाई प्राथमिकता ।
 राज्यको लक्ष्यमा पर्ने आधुनिक खेती प्रबिधिलाई समेत किसानले स्वीकार गरेकै अवस्था छ । जग्गाको धनीपुर्जा नभए मल पाइदैन भन्दा पनि किसानले मानेकै अवस्था छ । यो साल त सकिएन अर्को साल हेरौला भन्दा पनि किसानले मानेकै छन् । 
अहिले गौरादहमा चामल खाडलमा पुरिएको घटना ताजै छ । राहतको लागि एक वर्ष अगाडी नगरपालिकाले खरिद गरेको चामल बर्खे बिजि धानको चामल हो । जसलाई बजारमा सोना मन्सुली ब्राण्डको चामल भनेर बिज्ञापन लगाइन्छ । 
चामल खरिद गर्दा नगरपालिकाले ४२ देखि ४४ रुपैयाँको रेटमा खरिद गरियो भनिन्छ । गत असार महिनामा धानको मूल्य १९५० देखि २२५० रुपैयाँ प्रती क्विन्टल थियो । 
यो वर्ष धानको मूल्य १२०० देखि १२५० मा किनबेच भइरहेको छ । गतवर्ष पनि धान बिक्री नहुदा थ्रेसर लगाएको ठाउँमै कुहिएको थियो । गतवर्ष धान किन्नै नचाहेका व्यापारीले यो वर्ष धानको मूल्य आफुखुशी निर्धारण गरेर बिगत १० वर्ष अगाडीको मुल्यमा धान खरिद गरिरहेका छन् । 
संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अनाजको मुल्य तोक्न सक्ने अख्तियारी दिएको भएता पनि उनीहरुको उदासीनता र कार्यक्षेत्रको अज्ञानताका कारण किसानहरु बर्सेनि तनाव खेप्न बाध्य छन् । 
किसानको हितमा सामाजिक संघ संस्थाले बलियो आवाज उठाउन अपरिहार्य आवस्यकता देखिएको छ । 
Views: