d

सीके राउतलाई पक्राउ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

Views:
Responsive Image Gallery
Responsive Image Gallery


  
काठमाण्डाै – नेपाल इन्जिनियर्स एसाेसिएशन, वाग्मती प्रदेश र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । 

आज शुक्रवार माइतीघरमा भएको विरोध प्रदर्शनमा नेपाल इन्जिनियर्स एसाेसिएशन, वाग्मती प्रदेश र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सीडीई राजेश कुशवाहालगायतका कर्मचारीमाथि भएको दुर्व्यवहारकाे विराेधमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले देशले निजामती कर्मचारीहरूको महत्त्व बुझ्न नसकेको भन्दै कर्मचारीमाथि चौतर्फी आक्रमण हुनुले देश र कानुनको धज्जी उडाएको बताए । उनले यो दुष्कर्ममा सामेल हुने सबैलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाउन माग गरे । उनले जनकपुरमा भएको घटना दानवीय भएको बताउँदै आफूलाई पुनः ढुङ्गे युगमा फर्किएको भान हुन थालेको बताए ।

अध्यक्ष पोखरेलले भने, ‘यो पहिलो घटना होइन, निजामती कर्मचारीहरूको महत्त्व सरकारले, मन्त्रीले, नेताले, स्थानीय प्रतिनिधिहरूले बुझ्न सक्नुभएन । अहिले कर्मचारीहरुमाथि चौतर्फी आक्रमण भइरहेको छ, कानुनको धज्जी उडेको छ, यो क्रियाकलापमा सामेल भएका सबै अराजक तत्त्वहरूप्रति म घोर निन्दा र भर्त्सना गर्दछु, कानुन बमोजिम कडा भन्दा कडा कारबाहीको माग गर्दछु ।’

प्रदर्शनमा नेपाल इन्जिनियर एसाेसिएशन वाग्मती प्रदेशका अध्यक्ष नन्दलाल बन्जाडेले कार्यालय प्रमुखमाथि भएको दुर्व्यवहार हिंस्रक भएको बताए । उनले यो घटनालाई गम्भीरताका साथ लिएर आपराधिक गतिविधिमा संलग्न र नायिकेलाई कारबाही गर्नुपर्ने बताए । उनले कार्यालय प्रमुखलाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको टोलीले २९ मिनेटसम्म सामाजिक सञ्जालमा लाइभ गरेर अपमानपूर्वक सहर परिक्रमा गराउनु अफगानिस्तानमा तालिबानले गराएको जस्तो भएको बताए । उनले यो देशमा राज्य नभएको जस्तो भान हुन थालेको भन्दै घटनामा संलग्नलाई तीन दिनभित्र पक्राउ गर्न माग गरेका छन्  । उनले सीके राउतलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे ।

अध्यक्ष बन्जाडेले तीन दिनभित्र अपराधमा संलग्न र नायिकेलाई कारबाही नगरे इन्जिनियरहरूको शक्ति देखाउने चेतावनी दिए । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले हिजाे बिहीवार जनकपुरमा रहेकाे खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर लछारपछार गरेका थिए । उनीहरूले जनकपुर ८ मा रहेकाे बलवामा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहालाई दुर्व्यवहार गरेका थिए ।  

Views: