d

एमाले महाधिवेशनको उद्घाटन सत्र सम्पन्न

Views:
Responsive Image Gallery
Responsive Image Gallery

चितवन । नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । उद्घाटन सत्र सकिए लगत्तै नारायणी नदी किनारबाट एमाले नेताहरू शनिबारबाट सुरु हुने बन्द सत्रका लागि सौराहातर्फ लागेका छन् ।
चितवनको नारायणी नदी किनारमा भएको उद्घाटन सत्रको अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गरेर उद्घटन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले आफ्ना लागि नभई देशका लागि बहुमत ल्याउनु पर्ने बताए । उनले वर्तमान सरकारलाई लक्षित गर्दै आफूले चुनाव घोषणा गरे पनि अन्य दलहरूले सर्वोच्च अदालतमा हालेको रिट निवेदन माथि अदालतले परमादेश दिँदै त्यसलाई खारेज गरेको बताए । उनले परमादेशको बाटो नजाऊँ बरु जनादेशमा जाऊँ भने पनि त्यसलाई रोकिएको बताए ।
त्यस्तै महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जेल जीवनको स्मरण गर्दै एमाले अध्यक्ष ओली र आफू जेलमेट रहेको बताए । उनले सबै राजनीतिक दलहरू मिलेर संविधान जारी गरेको भन्दै अब पनि सहकार्य गरेर अघि बढ्न सकिने र संविधानबाटै मुलुकको विकास र समृद्धि गर्न धारणा राखे ।
अध्यक्ष ओलीको प्रशंसामा आफ्नो सम्बोधनलाई केन्द्रित गरेका राप्रपाका अध्यक्ष कमल थापाले मुलुकलाई संकटबाट जोगाउन अझै पनि केपी ओलीको खाँचो रहेको धारणा राखे । उनले चुच्चे नक्सा, सिके राउत, विप्लव तथा नाकाबन्दीको प्रसङ्ग कोट्याउँदै केपी ओलीमा राष्ट्रवाद प्रति दृढ सङ्कल्प रहेको भन्दै प्रशंसा गरे ।
यसैगरी नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले राष्ट्रिय स्वाधीनता र देशको विकासका लागि राजनीतिक दलहरू बीच सहकार्यको विकल्प नरहेको बताए । उनले कम्युनिष्ट आन्दोलन प्रति जनताको विश्वास कायम रहेको भन्दै कम्युनिष्ट पार्टीमा विभाजन र एकता स्वाभाविक प्रक्रिया भएको धारणा राखे । उनले एक्लो यात्राले मात्र समृद्ध नेपाल निर्माण असम्भव रहेको टिप्पणी गरे ।

Views: