d

जनचेतना अभिवृद्धि गर्न ताँजाकोटमा ‘हेल्दी बेबी’ प्रतियोगिता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

हुम्ला– दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका स्वास्थ्य संस्थाहरुले ‘हेल्दी बेबी’ प्रतियोगिता आयोजना गरेर स्वस्थ शिशु छनौट गरेका छन्। नवजात शिशुहरुको स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्न स्वास्थ्य संस्थाहरुले यो जुक्ति अपनाएका हुन्।

गाउँपालिकाको २ नम्बर वडाको स्वास्थ्य चौकी प्रमुख धनराज ढकालले सबै वडाका पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य अवस्था पत्ता लगाउनका लागि ‘हेल्दी बेबी’ प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।

उनले प्रतियोगितामा उत्कृष्ट भएका प्रत्येक वडाका तीन जना शिशुहरुलाई पहिलो, दोस्रो र तेस्रो स्थानमा छनौट गरेर पुरस्कृत गरिएको बताए।  यसका लागि निश्चित मापदण्ड बनाएर गाउँपालिकाका १ देखि ४ नम्बर वडामा ४५० जना शिशुहरुको स्वास्थ्य परीक्षण वडा स्तरमा गरिएको थियो।

उमेर अनुसार शिशुको तौल, उचाई पोषणको अवस्था लगायतलाई आधार मानेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने काम गरिएको हो। स्वास्थ्य परीक्षणपछि ७५ प्रतिशत शिशुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको, २० प्रतिशतको मध्यम र बाँकी पाँच प्रतिशतको न्यून अवस्था रहेको स्वास्थ्य चौकीले जानकारी गराएको छ।

स्वास्थ्य अवस्था सामान्य रहेका शिशुका आमाहरुलाई प्रोत्साहन स्वरुप तेल, साबुन, ब्रस, टुथपेष्ट, नेलकटर लगायतका व्यक्तिगत सरसफाईका सामाग्री प्रदान गरिएको थियो।

मध्यम र न्यून स्वास्थ्य अवस्था भएको शिशुका आमालाई स्वास्थ्य जनचेतानाका बारेमा अभिमुखीकरण गरिएको छ। प्रतियोगितामा सहभागी भएका सबै वडाका शिशुहरुमध्ये सात जना कुपोषित अवस्था रहेको पाइएको बताउँदै उनले आमालाई विशेष गरी पोषणमा ध्यान दिन आग्रह गरिएको बताए।

प्रतियोगिताको आयोजना गरेर शिशुलाई स्वस्थ्य राख्नका लागि आमालाई हौसला र ज्ञान प्रदान भएको विश्वास आयोजकको छ। यसका लागि विगत लामो समयदेखि गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको फेज नेपालले सहकार्य गरेको हो।

Views: