d

अख्तियारको निर्णय : दुई पूर्वआईजीपीसहित ‘ठूलाबडा’ संलग्न भ्रष्टाचारका मुद्दा तामेलीमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च र विशिष्ठ तहका कर्मचारी संलग्न धेरै मुद्दालाई तामेलीमा राखेको छ। 


दुईजना पूर्वआईजीपीसहित मुछिएका २६४ जनाको मुद्दा तामेलीमा राख्ने निर्णय अख्तियारले गरेको हो। 

‘साना माछा’ अर्थात् तल्लो तहका कर्मचारी संलग्न भ्रष्टाचारमा मात्रै ध्यान दिएको आरोप खेपिरहेको अख्तियारले उच्च पदस्थ अर्थात् ‘ठूला माछा’ संलग्न भनिएका मुद्दालाई तामेलीमा राखेको कुरा उसकै प्रतिवेदनमा देखिएको छ।

अख्तियारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमा भ्रष्टाचारका २ सय ४३ र गैरकानुनी सम्पत्ति आर्जनका २१ मुद्दामा आरोप पुष्टि हुने प्रमाण नपुगेको भन्दै तामेलीमा राख्ने निर्णय गरेको हो। 


अख्तियारले राष्ट्रपतिलाई बुझाएको २०७७÷०७८ को वार्षिक प्रतिवेदनमा विशिष्ट तहका व्यक्तिका मुद्दा पनि तामेलीमा छन्। 

सशस्त्र प्रहरी र नेपाल प्रहरीका एक एक जना पूर्वआईजीपीका मुद्दा पनि तामेलीमा राख्ने निर्णय भएको प्रतिवेदनमा उल्लेख छ। उक्त प्रतिवेदन सार्वजनिक भइसकेको छैन। 

पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध भ्रष्टचार आरोपमा अख्तियारमा उजुरी परेको थियो। प्रहरीका स्कर्टिङ मोटरसाइकल खरिद गर्दा खनालले करिब ५ करोड अनियमितता गरेको आरोप थियो। 

प्रक्रिया नपुगेको कम्पनीलाई खरिदको जिम्मा दिएको र अन्तर्राष्ट्रिय बजारभन्दा ५ करोड बढी देखिएको उजुरी परेको थियो। यस्तै प्रहरीका लत्ता–कपडा खरिद, बुटमा पनि अनियमितता गरेको आरोप थियो। 

उजुरी परेपछि २०७६ भदौ २० गते अख्तियारले प्रहरी प्रधान कार्यालयबाट कागजात समेत नियन्त्रणमा लिएको थियो। तर दुई वर्षपछि उक्त मुद्दामा प्रमाण नपुगेको भन्दै तामेलीमा राख्ने निर्णय गरेको हो। 

यस्तै सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक कोषराज वन्तविरुद्धको मुद्दा पनि तामेलीमा राख्ने निर्णय भएको छ। 

अकुत सम्पत्ति आर्जन गरेको भन्दै परेको मुद्दामा प्रमाण नपुगेको भन्दै अख्तियारले गत साउन ५ गते तामेलीमा राख्ने निर्णय गरेको प्रतिवेदनमा उल्लेख छ। 

यस्तै, काठमाडौं महानगरपालिकाका तत्कालीन उपनिर्देशक साधुराम भट्टराई र राजश्व अनुसन्धान विभागका तत्कालीन निर्देशक खिमबहादुर कुँवरको मुद्दा पनि तामेलीमा राखिएको छ। 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत केशवराज ओली, उपसचिव कपिलप्रसाद सुवेदी र कर फर्छ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महतको मुद्दा पनि तामेलीमा गएको छ। 

दक्षिण कोरियाका लागि पूर्व राजदूत  कमानसिंह लामा र अर्थ मन्त्रालयका तत्कालीन उपसचिव डिलबहादुर क्षेत्रीविरुद्धको मुद्दा पनि तामेलीमा राख्ने निर्णय भएको अख्तियारको प्रतिवेदनमा उल्लेख छ।   

उनीहरुले श्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेको थियो। तर आरोप प्रमाणित नभएको भन्दै अख्तियारले तत्कालका लागि मुद्दा तामेलीमा राखेको हो। तर पछि प्रमाण फेला परेमा भने फेरि अनुसन्धान भएर कारबाही हुनसक्ने अख्तियारले जनाएको छ।

Views: