d

गौरादहमा मेयर पदको लागि सुवेदीको नाम चर्चामा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: आसन्न निर्वाचनमा गौरादह नगरपालिकाको मेयर पदमा कस कसले उम्मेद्वारी देलान्  भन्ने विषयमा चर्चा चल्दै गर्दा हाल वडा न. ५ मा  वडाध्यक्ष समेत रहेका एमाले नेता छत्रपति सुबेदी  मेयर पदमा उम्मेद्वारी दिन आफू आकांक्षी रहेको बताएका छन्।  गत निर्वाचनमै मेयरको उम्मेदवार बन्ने चर्चा चल्दै गर्दा अचानक अर्का नेता मदन अधिकारीलाई उम्मदेवार बनाइएको थियो।  अधिकारी नेपाली कांग्रेसका उमेद्वार रोहित कुमार साह संग पराजित भएका थिए ।

यस पटकको निर्वाचनमा भने  मेयरको टिकट लिने आकांक्षी मध्ये पहिलो नम्बरमानै देखिएका छन् सुबेदी । 

'गत निर्वाचनमै मेरो दावी मेयर पदको लागि थियो,  यो पटक सबै खाले विषयमा छलफल गरौला तर एक पटक मौका पाए हुन्थ्यो भन्ने लाग्छ। ।' सुवेदीले भने।  

आफु मेयर पदमा योग्य रहेको बारेमा पार्टी अध्यक्ष के. पी. ओली संग समेत अनौपचारिक कुराकानी हुनेगरेको सुवेदी बताउछन्।  

'गौरादह १, २ र ३ साविक गौरादह गाविस हो। यहि ३ वटा वडालाइ मात्र विकासमा प्राथमिकता दिनाले गौरादहको समग्र विकासमा वाधा पुगेको छ।  मेयर छान्दा साविकका सबै गाविसलाई प्राथमिकतामा राखेर छलफल चलाइनु पर्छ।   ५ वटा गाविस मिलेर बनेको गौरादहमा भूगोललाई प्राथमिकता दिइयोस भन्ने मेरो आसय हो',  सुवेदीको भनाई रहेको छ।  

'पार्टी अध्यक्ष ज्यू संग मेरो व्यक्तिगत रुपमा समेत कुराकानी भै राखेको छ, गौरादहको भूगोलको बारेमा अध्यक्ष ज्यू राम्रो जानकार हुनुहुन्छ।  विकास निर्माणका तमाम विषयहरु छन्।  यसमा बोल्ड डिसिजन गरेर जान सक्ने मेयरको खाँचो छ। यसको लागि सबै संग भिज्न सक्ने र नीतिगत तहमा अनुभव हासिल गरेका व्यक्ति खोजी गरेर अगाडी बढ्नु जरुरी छ।', पर्दाफास संगको टेलिफोन संबादमा सुवेदीले भने।  

'तल्लो भेगका नगरवासीहरुले मेरो नाम खुलेर लिन्छन्, उठ्नु मात्र ठुलो कुरा होइन, विजयी हुनु ठुलो कुरा हो,  एमालेका आम कायकर्ताले यो विषयमा मनन गर्न अनुरोध गर्छु।' सुवेदीले भनेका छन्।  

सुवेदी तत्कालिन कोहबरा गाविसका अध्यक्ष, हाल वडा न. ५ मा वडा अध्यक्ष तथा पंचायतकालमा ताप्लेजुङ्ग जिल्ला विकास समितिमा समेत जनप्रतिनिधि  भएर कार्य गरिसकेका र कानुनी क्षेत्रमा समेत अनुभवी नेताको रुपमा परिचित छन् ।  

सुवेदीले उम्मेद्वारी दिने चर्चाले गौरादहमा निकै ठुलो तरङ्ग ल्याउने विश्लेषण गरिन्छ।  

Views: