d

सुन्दरहरैंचामा भू–उपयोग सम्बन्धी काम शुरू

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले पूर्वतयारीका लागि भू–उपयोग योजना तर्जुमाको काम शुरू गरेको छ । सरकारले भूउपयोग नीति लागू गरी जमिनको वर्गीकरण गर्ने कार्यक्रमअन्तर्गत कार्यान्वयनको पूर्वतयारीका लागि काम शुरू गरिएको सुन्दरहरैंचा नगरपालिकाका नगर प्रवक्ता रोशनप्रसाद  ढकालले जानकारी दिए । उनले नगरपालिकाले पिकासो कन्सल्टेन्सी इटहरीका प्राविधिकमार्फत जमीनको वर्गीकरणको काम सहज बनाउन वडास्तरमा अन्तरक्रिया कार्यक्रम शुरू गरेको जानकारी दिए ।

नगरको वडा नं १० र १२ मा प्रारम्भिक चरणको काम शुरू भएको छ । विद्यमान भू–उपयोग अवस्था, भूमिको उर्वरता, जनसंख्या प्रक्षेपण, जग्गाको मूल्य, जग्गाको खण्डीकरण दरलगायतलाई आधार मानेर काम गरिने परामर्शदाता तारा खतिवडाले बताए । नगरमा भू–उपयोग परिषद्को काम नगरकार्यपालिकाले नै गरी जमीनको वर्गीकरण गर्ने काम पूरा हुने परामर्शदाता खतिवडाले बताए । उनले कृषि क्षेत्रका लागि न्यूनतम दुई कठ्ठा र आवास क्षेत्रका लागि न्यूनतम साढे सात धुर जग्गा हुनु अपरिहार्य रहेको उल्लेख गर्दै स्थानीयसँगको सहकार्यमा कृषि, आवास, उद्योग, वन, जलाधारलगायत क्षेत्रमा जग्गाको वर्गीकरण गरिने बताए ।

 यसअघि प्रचलित अब्बल, दोयम, सिम र चहार भनी गरिएको वर्गीकरणलाई नयाँ वर्गीकरणले विस्थापन गर्ने उल्लेख गरिएको छ । पहिलो चरणमा तथ्यांक संकलन गरी नक्सांकन गरिने र थप काम अघि बढाइने नगर प्रवक्ता ढकालले बताए । रासस

Views: