d

 बंगुरपालकको खोरगोठ सम्म पुग्दै लेटाङ नगरपालिकाका जनप्रतिनिधिहरु 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

लेटाङ । मोरङको लेटाङ नगरपालिकाका जनप्रतिनिधिहरुले बंगुलपालक कृषकहरुको खोरगोठसम्मै पुगेर समस्या बारे जानकारी लिएका छन् । खासगरि पछिल्लो केहि महिना यतादेखि बंगुरपालक कृषकहरुको उत्पादन विक्रि नभएर समस्या भएपछि नगरपालिकाले उनीहरुको गोठसम्मै पुगेर समस्या पहिचान गरि समाधानको प्रयास थालेको हो । लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, नगरका प्रवक्ता भूम सूर्य मगर, पशु सेवा शाखा प्रमुख गणेश ओझा र सञ्चारकर्मी सहितको टोलीले बंगुरपालक कृषकहरुलाई भेटेर समस्या बारे जानकारी लिएको हो ।
नगर प्रुमुख लावतीको नेतृत्वमा निस्किएको अनुगमन टोली सुरुमा लेटाङ ५ का धर्मराज राईको समूहले लेटाङ ६ मा अढाइ वर्षदेखि सञ्चालन गर्दै आएको खोटाङे कृषि र्फममा पुग्यो । त्यसपछि लेटाङ ५ मा सम्झना तामाङले सञ्चालन गरेको योञ्जन कृषि फर्मको अनुगमन गर्यो । यसैगरि लेटाङ ५ कै दिदिबहिनी कृषि फर्म र लेटाङ ३ को नाश एकीकृत र्फम लगायतका बंगुर फर्महरुमा अनुगमन गरिएको छ । अनुगनका क्रममा कृषक धर्मराज राईले उत्पादित बंगुरको बजार मूल्य अत्यन्त न्यून भएको र दानाको मूल्य भने महंगो भएको गुनासो गर्नुभयो । उहाँले ८, १० महिनादेखि बंगुरको विक्रि मूल्य आधा भन्दा बढी घटेका कारण लगानी समेत खेर जाने अवस्था आएको बताउनभुयो । यसरी उत्पादीत बंगुरको मूल्य घटेको अवस्थामा दानाको मूल्यामा भने अत्यधिक वृद्धि हुँदा अम्दानी भन्दा खर्च बढेर व्यवसाय नै धरापमा पर्ने अवस्था आएको अर्का कृषक सम्झना तामाङको गुनासो छ ।
खासगरि नेपालबाट भारततर्फ बंगुर निर्यात हुने गरेकोमा केही कैफियत देखाउँदै भारतले नेपालको बंगुर आयातमा रोक लगाएकाले ठूलो संख्यामा उत्पादन भइरहेको बंगुरको विक्रि घटेपछि मूल्यमा भारि गिरावट आएको कृषकहरुको बुझाइ छ । उनीहरुले भारततर्फ निर्यात खुलाउन पहल गरिदिन नगरपालिका समक्ष आग्रह गरेका छन् । सहुलियत दरमा ऋण उपलब्ध गराइ दिन र स्थानीय बजारमा समेत मूल्यमा एकरुपता कायम गरि कृषकहरुलाई खुद्रा विक्रीका लागि स्थान उपलब्ध गराइ अर्का बंगुरपालक कृषक नैन किशोर राईले माग गर्नुभयो । 
कृषकहरुको गुनासो सुनेपछि नगरप्रमुख लावतीले व्यवसाय गर्दा विभिन्न समस्या आउने भएकाले यस्ता समस्या सामाना गरेर अघि बढे मात्र सफल व्यवसायी बन्न सकिने भन्दै हौसला प्रदान गर्नुभयो । उहाँले भारतफर्तको निकाशी खुलाउनका लागि नगरपालिकाले माथिल्ला सरकार समक्ष पहल गर्ने र स्थानीयरुपमा बजरिकरणका लागि समेत सहजिकरण गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
यस्तै उपप्रमुख कृष्णकुमारी निरौलाले बंगुरपालक कृषकहरुले आफूहरुको व्यवसाय नै संकटमा परेको भन्दै नगरपालिका समक्ष गुनासो गरेपछि नगरपालिकाले तत्काल समस्या समाधानमा चासो व्यक्त गरेको बताउनुभयो । नगरपालिकाको पशु सेवा शाखा प्रमुख गणेश ओझा भारत निर्यात बन्द भएको र बढी उत्पादन भएका कारण समस्या आएको बताउनुहुन्छ । 
लेटाङ नगरपालिकामा मात्र नभएर देशभर नै यतिबेला बंगुरपालक कृषकहरु समस्यामा परेका छन् । कृषकहरुका गुनासो सुन्न नगरका प्रमुख र उपप्रमुखको टोली किशानका खोरगोठसम्मै पुग्नुले जनप्रतिनिधि जनताप्रति उत्तरदायी छन् भन्ने सन्देश गएको छ ।  यसको दीर्घकालिन समाधानका लागि भारततर्फ निकाशी खुलाउन संघीय सरकारले नै पहल गर्नुपर्ने देखिन्छ । तरपनि कृषकहरुका समस्या माथिल्ला सरकार समक्ष पुर्याउने र आफ्नो तर्फबाट समेत समस्या समाधनको प्रयास गर्नेतर्फ नगरपालिकाको ध्यान जान जरुरी छ ।कोशी अनलाइन बुलेटिन। 

Views: