d

निर्वाचनमा ५.०६ प्रतिशत मत बदर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौँ – निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको बताएको छ।

सोमबार निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कुल खसेको मतको ५.०६ प्रतिशत मत बदर भएको बताएका हुन्।


उनले प्रदेश सभाको समानुपातिकतर्फको मत सबैभन्दा बढी बदर भएको बताए। उनले प्रदेश सभाको समानुपातिकतर्फ औसतभन्दा बढी ६.५५ प्रतिशत मत बदर भएको जानकारी दिए।

त्यस्तै, सबैभन्दा कम प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मत बदर भएको उनले उल्लेख गरे। प्रदेश सभामा प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको बदर मत प्रतिशत ४.०७ प्रतिशत रहेको उनले बताए। सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा मत बदर भएको उनले जानकारी दिए।

उपसचिव भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ हेर्दा सुदूरपश्चिम प्रदेशमा ५.७० प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ४.१६ प्रतिशत मत बदर भएको छ।

उनले भने, ‘मतदानमा विगतको तुलनामा र आयोगले गरेको अपेक्षाभन्दा कम मतदान भएको हामीले पायौँ। समग्रमा हेर्ने हो भने ६१.४१ प्रतिशत मतदान भयो। हामीले कुल खसेको मतलाई सदर र बदर भनेर पनि हामीले तथ्यांक निकालेका छौँ। कुल खसेको मतको ५.०६ प्रतिशत बदर भएको हाम्रो तथ्यांकले देखाएको छ। त्यसमा सबैभन्दा बढी प्रदेश सभाको समानुपातिकतर्फ सबैभन्दा बढी मत बदर भएको देखिन्छ।’

आयोगका उपसचिव भट्टराईका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५.०६ प्रतिशत मत बदर भएको छ भने प्रतिनिधि सभाको समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको छ।

त्यस्तै, प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ४.०७ प्रतिशत र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ६.५५ प्रतिशत मत बदर भएको बताउनु भयो ।

Views: