d

गौरादह खानेपानी: अध्यक्षपदका प्रत्यासी कृष्ण बाँस्कोटा सँगको अन्तरंग कुराकानी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

फाल्गुन ९ गतेलाई तय गरिएको गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा कृष्णप्रसाद बाँस्कोटाले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ। उहाँले गौरादह खानेपानी संस्थामा एक कार्यकाल लेखा समिति सदस्य भइ अनुभव बटुलिसक्नु भएको छ। बाँस्कोटाले राप्रपा -नेकपा माओवादी केन्द्र र रास्वपा सम्मीलित प्यानलको नेतृत्व गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ। उहाँ गौरादह १ निवासी हुनुहुन्छ। लामो समयदेखि शिक्षण पेशामा आबद्ध रहनुभएका बाँस्कोटासंग गरिएको कुराकानी...

 

#तपाईहरु चुनावी कार्यक्रमको एक चरणमा प्रवेश गरिसक्नु भएको छ। तपाईको उम्मेदवारी किन र केका लागि?

मेरो उम्मेदवारी गौरादहका नागरिकलाई स्वच्छ र शुद्ध पिउने पानी प्रदान गर्नका लागि नै हो। अहिले जति पाइप विस्तार भएका छ्न ती प्रयाप्त छैनन् र ठुला पाइप विस्तार भएका छैनन्। म निर्वाचित भएमा कुनै कन्जुस्याइँ नगरि चौबीसै घण्टा यहाँका उपभोक्तालाई पानी पुर्याउने छु।

 

#गठबन्धन गरेर प्यानल घोषणा गर्नुभएको छ। यो परिस्थिति कसरी सृजना भयो?

राष्ट्रिय स्वतन्त्र पार्टीको चाहना भनेको युवाहरूको भावना समेट्नु पर्यो भन्ने हो। युवाहरूलाई संगसंगै लगेर काम गर्नुपर्यो भन्ने नै हो। यहाँ त म्युजिकल चेयर खेले जस्तो हरेक संस्थामा त्यै व्यक्तिले घुमि घुमि नेतृत्व गरिरहेका छन। एक प्रकारको सिन्डिकेट नै छ भनौं न। ज्ञान र क्षमता भएको व्यक्ति जहिले ओझेलमा परिरहनुपर्ने अवस्था छ। पुस्तान्तरण खोइ त? समय अनुसार नयाँनयाँ व्यक्ति आउनुपर्यो, सिक्दै जानुपर्यो भन्ने कुरामा हाम्रो जोड हो। युवाहरू अगाडि बढ्नु पर्यो, युवाहरू नडराऔं, हरेक कुराबाट पछि पर्नु हुँदैन भनेर हामी आएका हौं। अबको समयमा मान्छेहरुलाई रोकेर होइन। जुझारु युवाहरूलाई अगाडि बढाएर काम गर्ने मौका दिनुपर्यो।

#काङ्ग्रेस -एमालेको गठबन्धनबाट केहि निश्चित पद दिएर तपाईंहरुको उम्मेदवारी फिर्ता गर्नुस भन्ने प्रस्ताव आयो भने सम्झौता गर्नुहुन्छ?

हाम्रो उम्मेदवारी फिर्ता हुँदैन। हामी जनता माझ जाने हो। चुनावमा होमिए पछि हार/जीत स्वभाविक हुन्छ। जित्ने भनेको एक पक्षले नै हो। जति भोट आएपनि हामीलाई स्वीकार छ। हामीलाई जनताले पत्याउनु भयो भने काम गरेर देखाउने हो।

#कुनै पदमा पनि सम्झौता हुँदैन त?

हामी उम्मेदवारी फिर्ता नगर्ने पक्षमा नै छौँ। जनताको अभिमत कस्तो हुँदो रहेछ महसुस गरौं भन्ने हो। राप्रपा र माओवादीसंग मुद्दामा कुरा मिलेर नै हामी अघि बढेका हौं। हामीलाई पदको लोभ छैन तर, यहाँ जुन सिन्डिकेट छ त्यो चिर्न जरुरी छ भन्ने हामीलाई लागेको छ।

 

#तपाईलाई एमाले पृष्ठभुमिको व्यक्ति भनेर चिन्छ्न। एमालेमा हुँदा अवसर नपाएर रास्वपाबाट उम्मेदवारी दिनु भएको भन्ने आरोप छ नि?

मेरो पृष्ठभुमि एमाले नै होला तर, म झण्डा बोकेर हिडेको छैन। फेरि विचार भनेको सर्वकालिन हुन्छ भन्ने छैन। सबै पार्टीका साथीहरूसंग मेरो राम्रो सम्बन्ध छ। हामी पढे लेखेको युवाले सबै साथीहरूको विचार र भावनालाई सम्मान गर्न सक्नुपर्छ।

#अन्त्यमा

अन्त्यमा आम उपभोक्तालाई म के भन्न चाहान्छु भने हाम्रो मान्छे भन्दा पनि राम्रो मान्छे छान्नुहोस। अग्रगामी सोच भएका, कामका हिसाबले छलाङ मार्न सक्ने व्यक्ति चुन्नुहोस। स्वच्छ पिउने पानी प्रदान गर्नसक्ने वातावरण जसले बनाउन सक्छ त्यै व्यक्तिलाई जिताउनुपर्छ। अहिले उपभोक्ताले महसुल रकममा गुनासो गरिरह्नु भएको छ। महसुलका विषयमा अध्धयन गरेर त्यसको कारण पत्ता लगाउनुपर्छ। अहिले खानेपानीमा जे जति उपकरण छ्न तिनिहरुलाई अपडेट गरेर काम गर्नुपर्छ। सजल संदेशबाट साभार 
 

Views: