d

नगर अस्पतालको निशुल्क स्वास्थ्य शिविरबाट ११ सय ५९ जना लाभान्वित

Views:

 

झापा: गौरादह नगर अस्पतालमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नागरिकहरुलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले नगरपालिकाको पहलमा विभिन्न रोगहरुको निशुल्क शिविर सञ्चालन गरिएको हो । 

नोबेल मेडिकल कलेज बिराटनगर र बिर्ता ज्योति आँखा अस्पताल दमकको प्राविधिक सहयोग तथा विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य परिक्षण गरिएको छ ।

आँखा, मुटु, मृगौला, हाडजोर्नी तथा बालरोग र छाला सम्बन्धि समस्याको निशुल्क स्वास्थ्य परिक्षण गरिएको  
 उक्त शिविरबाट ४ सय ८६ महिला महिला ६ सय ७३ पुरुष गरि कुल ११ सय ५९ जनाले निशुल्क सेवा प्राप्त गरेको नगर स्वास्थ्य शाखाले जनाएको छ  । 

स्वास्थ्य शिविरबाट ३० जना मोतियाविन्दु सम्बन्धि समस्या र करिब ८० जनाको मुटु सम्बन्धि समस्या पहिचान गरि थप उपचारका लागि रेफर गरिएको जानकारी गराइएको छ । 

शिविरमा नगरवासीको उल्लेख्य सहभागीता देखिएको छ । बिहान सबेरै देखि स्वास्थ्य उपचार गर्न आउनेहरुको खचाखच भिड देखिन्थ्यो भने बिहान १०:३० देखि स्वास्थ्य उपचार सेवा सञ्चालन गरिएको थियो । 
साँझ ३ बजेसम्म टिकट खुल्ला गरिएकोमा यो समाचार तयार गर्दा सम्म स्वास्थ्य परिक्षण भइरहेको पाइएको छ । 

औपचारिक कार्यक्रम मार्फत सुचारु गरिएको स्वास्थ्य शिविरमा प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै संविधानसभा सदस्य दिपक कार्कीले  गौरादह नगर अस्पतालको स्थापनाले स्वास्थ्य सेवाको बिकासमा महत्त्वपूर्ण टेवा पुगेको बताए। स्वास्थ्य सेवाको पहुँच विस्तारमा अझै धेरै कार्य गर्नुपर्ने आवश्यक्ता रहेको बताउदै सभासद कार्कीले नगर अस्पताल भवन निर्माणको कार्यलाई चाँडै पुर्णता दिनुपर्ने जोडे । 

नगर प्रमुख छत्रपति सुवेदीले नगर अस्पताललाई थप व्यवस्थित गर्न नगरपालिका लागिपरेको बताए  ।  रेफर सहितको स्वास्थ्य बिमा  सुविधा र सुचारू गरिएको बताउदै आगामी दिनमा अत्यावश्यक सेवाहरु थप गर्दै जाने बताए । गौरादह १ स्थित चैतेचोकमा निर्माणाधीन क्रममा रहेको नगर अस्पताल भवनको लागि जग्गा नामसारीको कार्य अन्तिम चरणमा पुर्‍याइ भवन निर्माणको बृहत गुरु योजना डिपिआर समेत गरिसकिएको जानकारी गराए । 

कार्यक्रममा नोबेल मेडिकल कलेजका मेडिकल अफिसर 
नवीन दाहालले नोबेल मेडिकल कलेजले जनस्तरमा प्रदान गर्ने गरेको सेवा सुविधा बारे संक्षिप्त जानकारी गराएका थिए । 
कार्यक्रममा नौ वटै वडाका वडाध्यक्ष, नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराई 
विर्ताज्योती आँखा अस्पतालका सञ्चालक कर्ण योगी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन नगर स्वास्थ्य शाखा सह-इन्चार्ज गोबिन्द श्रेष्ठले गरेका थिए । 

Views: