d

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, लामिछाने भन्छन् - 'सुन तस्कर कसैलाई छाड्दिन' 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बिहीबार अवैध सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन बुझाउँदै । 


काठमाडौँ, चैत २।   उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले  सुनको अवैध तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनलाई पूर्ण रुपमा कार्यान्वन गर्ने बताएका छन्। सुनको अवैध तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले हिजो   ६८ जनालाई कारबाहीको सिफारिस गरेको प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन ग्रहण गर्दै लामिछानेले  सुन तस्करीमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न ती व्यक्तिलाई कारबाही गर्ने बताएका हुन्।  

उनले सुन काण्डको विषय नागरिक मात्रै नभएर समग्र मुलुकले चासोसाथ हेरेकाले प्रतिवेदन अध्ययनपछि कार्यान्वयन गर्ने बताए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन २ गते बरामद भएको ६१ केजी र २०७९ पुस १७ गते विमानस्थल भन्सार कार्यालयले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याएको नौ केजी तस्करीको सुन बरामदपछि सरकारले गत असोज १४ मा जाँचबुझ आयोग गठन गरेको थियो ।


उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा, पूर्वसहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशी सदस्य रहेको आयोगलाई सरकारले अदालत सरहको अधिकारसहित जिम्मेवारी तोकेको थियो । सुन तस्करीबारे स्वतन्त्र र निष्पक्ष जाँचबुझ गरी संलग्नलाई कानुनी कारबाहीको सिफारिस, तस्करी नियन्त्रणका लागि मौजुदा कानुनको परिमार्जन, संरचनागत सुधारका लागि सुझाव पेस गर्न गठन भएको सो आयोगले झन्डै पाँच महिनाको विस्तृत अध्ययनसहित ४८५ पृष्ठ, १३ अनुच्छेद र ९ अनुसूची समेटिएको प्रतिवेदन तयार पारेको छ । 

Views: