कमल थापाको आरोप : 'शान्तिपूर्ण आन्दोलनमा सरकारको अमानवीय दमन'
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आइतबारको शान्तिपूर्ण प्रदर्शनमा सरकारले निर्मम दमन गरेको आरोप लगाएका छन्। प्रहरी हिरासतबाट रिहा भएपछि पत्रकार सम्मेलनमार्फत थापाले आफूलाई बुटले हिर्काउँदै कठालो समातेर घिसारिएको दाबी गरे।
उनका अनुसार, बालुवाटारतर्फ बढ्दै गर्दा सुरक्षाकर्मीहरूले लाठीचार्ज गरेका थिए। त्यही क्रममा राप्रपाका अर्का अध्यक्ष राजेन्द्र लिङ्देन घाइते भएको समेत उनले जानकारी दिए। थापाले आन्दोलनलाई संयमित राख्ने प्रयास गर्दा पनि एक प्रहरी जवानले निरन्तर खुट्टामा बुटले प्रहार गरेको उल्लेख गरे। सोधपुछ गर्न खोज्दा थप आक्रोशपूर्ण व्यवहार गर्दै आफूलाई जबर्जस्ती भ्यानमा हालिएको उनले बताए।
राप्रपाले जेठ १५ गतेदेखि सुरु गरेको आन्दोलन शान्तिपूर्ण भएको र सरकारको निर्देशमा शनिबार दरबारमार्ग निषेधित क्षेत्र घोषणा गरिएपछि बालुवाटारतिर कार्यक्रम सारिएको उनले बताए। तर, आइतबार पुनः त्यही स्थानमा प्रदर्शन गर्न खोज्दा प्रहरीबाट कठोर हस्तक्षेप भएको उनले स्पष्ट गरे।
‘सरकारले आन्दोलनमाथि दमनको बाटो रोजेको छ,’ थापाले भने, ‘मजस्ता जिम्मेवार नेतामाथि अभद्र र अमानवीय व्यवहार गर्नु लोकतान्त्रिक शासन प्रणालीको अपमान हो।’ उनले दमनले राप्रपाको आन्दोलन कमजोर नहुने बरु अझ शक्तिशाली बन्दै जाने चेतावनी दिए।
थापाले आन्दोलन थप व्यापक र जनसमर्थनयुक्त हुने स्पष्ट पार्दै सरकारका यस्ता कदमहरू सत्ताको अंहकार र जनअधिकारप्रति असहिष्णुताको प्रमाण भएको आरोप लगाए। file image
प्रतिक्रिया