कथा: साबुन बनाउने दिदी....
आज दिनभर धेरै जना सँग भेटघाट भयो, तैपनि दुई जनाको भेटबाट मनमा खुल्दुली जागिरहेको छ। यही खुल्दुली मेटाउन सम्झन लायक लागेका दुई जनासँग भएका गफहरू सुनाउन चाहन्छु।
विहानको समय थियो, खुट्टा तन्काउने काममै गाउँतिर थिएँ। एक जना दिदीको घर नजिक पुगेपछि याद आयो, अस्ति भर्खरै साबुन बनाउने तालिममा दिदी पनि सहभागी भएको बुझेको थिएँ। के कस्तो रहेछ बुझ्न मन लाग्यो, म दिदीको घरमा पसें।
म – दिदी, नमस्कार। के गर्दै हुनुहुन्छ?
दिदी – सञ्चै छु भाइ, तिमीलाई कस्तो छ? यता बस, भन्दै दिदीले कुर्सी ल्याउनु भयो, म बसें।
म – दिदी, अनि अस्ति तपाईंले पनि साबुन बनाउने तालिम लिनु भएको हो हैन?
दिदी – हो नि भाइ, (प्रफुल्ल मुद्रामा उत्तर दिनु भयो)।
म – अनि साबुन बनाउन जान्ने हुनु भयो त? अब गाउँमै साबुन बनाउनुपर्छ नि।
दिदी – अँ भाइ, कहाँ साबुन बनाउन सकिन्छ र? सकिँदैन नि भाइ। (भावुक स्वरमा उत्तर दिनु भयो।)
म – तालिम किन लिनु भएको त? तपाईंलाई साबुन बनाउनु नै थिएन भने तालिममा जानु भएको किन?
दिदी – तालिम आएको छ अरे, जाउँ भने साथीभाइले, अनि गइयो नि। (दिदीले उत्तर दिनु भयो।)
अर्को भेट:
म – बैनी, कता हिँडेकी?
बैनी – ड्राइभिङ सिक्न, दमक हिँडेकी। अनि अंकल सञ्चै हुनुहुन्छ?
म – सञ्चै छु। कति पैसा लाग्दो रहेछ? हेभी कि लाइट?
बैनी – कार सिक्न हो, पैसा लाग्दैन।
म – किन र?
बैनी – नगरपालिकाले सिकाएको, नगरको कोटामा हो।
म – ए, राम्रो भएछ। (खुशी व्यक्त गरेँ) प्रश्न गर्न मन लाग्यो – अनि कार कुदाउन सिकेर के गर्छ्यौ नि?
बैनी – १२ सकेर बाहिर जान्छु, त्यहाँ सजिलो हुन्छ अरे।
भन्दै थिई, रिक्सा आयो, उनी चढेर गइन्।
म मनमा केही सम्झिँदै घरतर्फ लागें।
राज्य संयन्त्रबाट हुने गरेका यस्ता लगानीहरू किन अनुत्पादक ठाउँमा लगानी भएका होलान् भन्ने प्रश्न आफैँलाई गरेँ। जसलाई उक्त सिकाइबाट व्यवसायिक बन्नु छैन भने लगानी किन?
तालिम, गोष्ठी, अनुदान, सामग्री वितरण जस्ता कार्यबाट सामाजिक र व्यक्तिगत जीवनमा आम्दानीका स्रोतका रूपमा र समाज परिवर्तनका लागि मार्गदर्शक बाटो कोर्न नसक्ने अधुरा तालिम, गोष्ठी, अनुदान वितरणले जनतालाई आशे बनाउन सक्छ; आफ्ना नजिकका केही क्षणिक खुशी त होलान्।
यस्ता अनुत्पादक ठाउँमा गरिने लगानी राज्य स्रोतले कतिञ्जेल धान्न सक्छ? यस्ता तालिमहरू जो उक्त काम प्रति जागरुक छन्, जसले उक्त तालिमलाई व्यवसायिक रूपमा प्रयोग गर्न सक्छन्, त्यस्ता व्यक्ति वा समूहलाई पूर्ण तालिमको व्यवस्थापन गरेर व्यवसायिक बनाउनेसम्मको काम गरिनु पर्छ। अपूर्ण र अनुत्पादक ठाउँको लगानी राज्य स्रोतको दोहन मात्र हो।
खेमराज तिम्सिना
गौरादह - २, झापा
प्रतिक्रिया