गौरादह नगरपालिकाको १६ औं नगरसभा सुरु
गौरादह/ असार ८ आइतबार
गौरादह, झापा । गौरादह नगरपालिकाले चालु आर्थिक वर्ष ०८१/०८२ का लागि स्वीकृत गरेको अनुमानित बजेटको ८५ प्रतिशतभन्दा बढी खर्च हुने प्रक्षेपण गरेको छ।
नगरपालिकाको १४औं नगरसभाबाट स्वीकृत अनुमानित बजेट ८४ करोड ३४ लाख २२ हजार २८२ रुपैयाँ रहेकोमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त विषयगत सर्शत अनुदानसहित यो रकम बढेर ८६ करोड ५१ लाख १२ हजार २६१ रुपैयाँ ६६ पैसा पुगेको नगरपालिका स्रोतले जनाएको छ।
ज्येष्ठ ३० गतेसम्मको तथ्याङ्कअनुसार कुल खर्च ६६.२१ प्रतिशत रहेको छ। पुँजिगत खर्च ५९.९३ प्रतिशत पुगेको छ भने चालु खर्च ६९.७५ प्रतिशत रहेको आज बाट सुरु भएको १६ औं नगरसभामा प्रस्तुत गरिएको छ ।
नगरपालिका सभाहलमा आयोजित १६ औं नगरसभाको प्रथम बैठकले नगर कार्यविधी २०८२ समेत पारित गरेको छ ।
गौरादह नगरपालिकाले विगत तीन वर्षको अवधिमा सार्वजनिक सेवा प्रवाह, संरचना निर्माण र नागरिक कल्याणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ। नगरसभाको १६औं अधिवेशनमा नगर प्रमुखले प्रस्तुत गर्नुभएको प्रगतिविवरण अनुसार स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार, विपद व्यवस्थापन र भूमिसम्बन्धी समस्याको समाधानमा नगरको ध्यान केन्द्रित रहँदै आएको छ।
स्वास्थ्य सेवाको सन्दर्भमा अधुरो रहेका आधारभूत सेवा भवनहरू सम्पन्न गरिनुका साथै नगर अस्पतालको सञ्चालन प्रभावकारी रूपमा सुरु गरिएको छ। बीमा सेवा पनि सुचारु भइसकेको छ। अस्पतालमा विशेषज्ञ चिकित्सकद्वारा फिजीशियन, हाडजोर्नी, स्त्रीरोग, बालरोग, सर्जरी सेवा, सुरक्षित सुत्केरी सेवा लगायतका सेवा दिइँदै आएको छ। साथै, भिडियो एक्सरे, डिजिटल एक्सरे, प्याथोलोजी ल्याब, २४ घण्टा आकस्मिक सेवा र नियमित OPD सेवा बिहान ७ बजेबाट साँझ ५ बजेसम्म सञ्चालनमा छ। नगर अस्पतालको १५ शैय्याको नयाँ भवन निर्माणका लागि आवश्यक जग्गा निःशुल्क प्राप्त भइसकेको र निर्माण तीव्र गतिमा भइरहेको छ।
शिक्षा क्षेत्रमा पनि उल्लेख्य सुधार भएको छ। पहिलोपटक नगरस्तरीय शिक्षा ऐन निर्माण गरी लागू गरिएको छ। स्थानीय पाठ्यक्रम निर्माण तथा विद्यालय व्यवस्थापन समिति सुधारसहित कक्षा ५ र ८ का लागि नगरस्तरीय परीक्षा सञ्चालन हुँदै आएको छ। साथै, शैक्षिक संरचना विस्तारमा पनि नगरको लगानी बढ्दो छ।
कृषिमा आधुनिकीकरण र वैज्ञानिक दृष्टिकोणले कार्यक्रमहरू अघि बढाइएको जनाइएको छ। यान्त्रिकीकरण, भूमिगत सिंचाइ, मौरीपालन, तरकारी खेती, पशु नस्ल सुधार, जैविक मल कारखाना सञ्चालन लगायत कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ। नेपाल कृषि अनुसन्धान परिषद र विज्ञान तथा प्रविधि प्रतिष्ठानसँग सहकार्य गर्दै अनुसन्धान, तालिम र बीउ उत्पादन कार्यक्रमहरू पनि अघि बढाइएका छन्।
वातावरणीय सन्तुलन र विपद् व्यवस्थापनमा पनि नगरपालिका अग्रसर देखिएको छ। नदी नियन्त्रण अन्तर्गत रतुवा, कृष्णे, चान्दु, रामचन्द्रे, गौरिया, लालपैनी जस्ता खोलामा तटबन्ध निर्माण र संरक्षण कार्य अघि बढाइएको छ। एशियन डेवेलपमेन्ट बैंक (ADB) को सहयोगमा ४२०० मिटर तटबन्ध सम्पन्न भइसकेको छ भने थप ८०० मिटर निर्माणाधीन अवस्थामा छ। नगरस्तरमै विपद् प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याइएको छ।
भूमि व्यवस्थापनमा गौरादह वडा नं. ४ र ५ का लामो समयदेखिका जग्गा समस्या समाधानतर्फ ठोस पहल गरिएको छ। नेपाल सरकारको समन्वयमा नयाँ आदेश जारी गरी दर्ता प्रक्रिया तीव्र पारिएको छ। भूमिहीन, दलित तथा सुकुम्बासीहरुको समस्या समाधानका लागि नगरपालिकामा छुट्टै भूमि शाखा गठन गरी कार्य अघि बढाइएको छ।
भौतिक पूर्वाधारको क्षेत्रमा नगरपालिकाले ऐतिहासिक प्रगति गरेको देखिन्छ। नगरभित्रका सबै ९ वडामा गरी झण्डै १३ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको वा सम्पन्न हुने चरणमा छ। दर्जनौं कल्भर्ट निर्माणसँगै चान्दु, रामचन्द्रे, गौरीया र कृष्णे खोलामा ६ वटा ट्रसवृज निर्माण सम्पन्न भइसकेका छन्। वडा नं. २ मा निर्माणाधीन १ मोटरेवल पुल आगामी वर्ष सञ्चालनमा आउने तयारीमा छ। सडक, पुल र अन्य भौतिक योजनाहरू आगामी वर्ष थप तीव्रताका साथ अगाडि बढाइने नीति कार्यक्रममा उल्लेख छ ।
गौरादह नगरपालिकाको समग्र प्रगतिले स्थानीय सेवा प्रवाहमा सुधार ल्याउनुका साथै नगरवासीहरूको जीवनस्तर उकास्न सकारात्मक संकेत देखाएको छ। अबका दिनमा अझ प्रभावकारी कार्यान्वयन र पारदर्शिता कायम गर्दै नागरिकको अपेक्षा अनुसारको सेवा प्रवाह गरिने प्रतिबद्धता नगरसभामा व्यक्त गरिएको छ।
नगरसभामा नगर प्रमुख छत्रपती सुवेदी द्वारा प्रस्तुत गरिने नीति कार्यक्रम २०८२/०८३ लाई उपप्रमुख जलवर्षा राजवंशीले प्रस्तुत गरिन । अर्को नगरसभा भोलि अपरान्ह ३ बजे बस्ने गरि स्थगन गरिएको छ ।
नीति कार्यक्रमको पूर्ण विवरण हेर्न पिडिएफ लिंकमा क्लिक गर्नुहोस् ।
प्रतिक्रिया