श्रावण १४ २०८२, बुधवार

२०८४ सम्ममा गौरादहमा १०० किमी सडक कालोपत्रे गरिने : नगरप्रमुख सुवेदी

Ads

 

Ads

झापा । गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले आगामी २०८४ सालसम्म नगरभित्र १०० किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्य रहेको बताउनु भएको छ। हालसम्म १७ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको र आगामी आर्थिक वर्षदेखि यो कार्यलाई थप तीव्रता दिइने उहाँको भनाइ छ।

नगरप्रमुख सुवेदीका अनुसार गौरादह क्षेत्रको करिब ९८ प्रतिशत पुल र कल्भर्ट निर्माण सम्पन्न भइसकेकोले अब सडक कालोपत्रे सहज रुपमा अघि बढ्न सक्ने अवस्था बनेको छ।

Ads

‘सबै पक्षको समर्थन छ, विकास रोकिँदैन’

पर्दाफास प्रतिनिधिसँगको कुराकानीमा उहाँले भने, “निर्वाचित जनप्रतिनिधिको हैसियतमा अहिले हामी बलियो अवस्थामा छौँ। प्रदेशका मुख्यमन्त्री यही क्षेत्रका हुनुहुन्छ, प्रधानमन्त्री पनि यहीँबाट निर्वाचित हुनुहुन्छ, यातायात मन्त्री समेत गौरादहकै हुनुहुन्छ। यस्तो अनुकूल वातावरणमा विकासले गति लिनु स्वाभाविक हो।”

उहाँले गौरादहमा यातायात र पूर्वाधार विस्तारका लागि संघीय सरकारबाट चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको बजेट प्राप्त भएको जानकारी दिनुभयो।

‘२ वर्षभित्र अधिकांश मुख्य सडक कालोपत्रे हुने’

“आगामी दुई वर्षभित्र गौरादहका अधिकांश मुख्य सडक कालोपत्रे हुनेमा म ढुक्क छु,” नगरप्रमुख सुवेदीले बताउनुभयो।

विकासमा समुदायको साथ आवश्यक

नगरप्रमुख सुवेदीले कतिपय सडक योजनामा अनावश्यक विवाद खडा गरेर काममा अवरोध पुर्‍याउने प्रवृत्ति देखिएकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले नगरपालिका अन्तर्गतको प्राविधिक अनुगमन टोली सक्रिय रहेको र अनुभवी इन्जिनियरहरूको सहकार्यमा विकास योजना निरीक्षण भइरहेको जानकारी दिनुभयो।

“नगर प्रमुखको हैसियतमा म स्वयम् पनि योजनाको अनुगमन गर्छु। अनुगमनका क्रममा समस्या देखिए तत्काल एक्सन लिन्छु,” पर्दाफास प्रतिनिधि सँग कुरा गर्दै उहाँले स्पष्ट पार्नुभयो।

नगरप्रमुख सुवेदीले विकास निर्माण कार्यलाई सफल बनाउन सामुदायिक सहयोग अपरिहार्य रहेको पनि जोड दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार
आषाढ ०६ २०८२,शनिबार