श्रावण १४ २०८२, बुधवार

एयर इन्डिया विमान दुर्घटनाः उडानपश्चात एक सेकेन्डमै इन्जिनहरू बन्द, दुर्घटनाको मूल कारण इन्धन आपूर्ति रोकिएको

Ads

 

काठमाडाैं, असार २८ — भारतको अहमदाबादबाट लण्डन ग्याटविकका लागि उडेको एयर इन्डिया ड्रीमलाइनर (बोइङ ७८७-८) विमानको दुर्घटनामा इन्जिन फ्युल सप्लाई (इन्धन आपूर्ति) एक्कासि बन्द हुनु नै मूल कारण भएको पुष्टि भएको छ। भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (AAIB) ले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदन अनुसार, टेकअफ गरेलगत्तै एकपछि अर्काे गरी दुवै इन्जिन बन्द भएका थिए।

Ads

पाइलटहरूमाझ भएको संवाद अनुसार, एक पाइलटले अर्कोलाई सोधेका थिए, “तपाईंले इन्जिन किन बन्द गर्नुभयो?” जवाफ आएको थियो, “मैले त गरेको होइन।”
यो संवाद विमानको ककपिट भ्वाइस रेकर्डमा सुरक्षित रहेको छ, जसले इन्जिन बन्द हुनु आकस्मिक भएको पुष्टि गर्छ।

बोइङ ७८७ मा ‘रन’ (चालू) र ‘कटअफ’ (बन्द) स्विच हुन्छन्, जसबाट इन्जिनमा इन्धन पुग्ने–नपुग्ने निर्णय हुन्छ। प्रतिवेदन अनुसार टेकअफपछिको पहिलो ३ सेकेन्डमै दुवै स्विच क्रमशः बन्दतर्फ सरेका थिए, जसले इन्धन आपूर्ति रोकिदियो र इन्जिनले काम गर्न छाड्यो।

Ads

पाइलटहरूले तुरुन्त इन्जिन रिस्टार्ट गर्न खोजे पनि इन्जिन १ अलिकति चल्ने संकेत देखिए पनि इन्जिन २ पुनः सुरु हुन सकेन। यसैबीच विमानको आपतकालीन पावर सिस्टम (राम एयर टर्बाइन) सक्रिय भयो, तर त्यत्तिले ठूलो दुर्घटनाबाट जोगाउन सकेन।

इन्धनमा खराबी भएको रिपोर्ट गलत साबित भएको छ। इन्धन परीक्षणले कुनै अशुद्धता देखाएन। यन्त्रगत रूपमा फ्युल स्विचहरू सुरक्षित रहेको र सजिलै सर्न नसक्ने किसिमको भए पनि तिनको सक्रियता एक–एक सेकेन्डको अन्तरालमा परिवर्तन हुनु चिन्ताजनक विषय भएको अनुसन्धानकर्ताहरूको भनाइ छ।

सन् २०१८ मै अमेरिकाको FAA (Federal Aviation Administration) ले त्यस्ता स्विचका सम्बन्धमा चेतावनी दिएको भए पनि त्यो बाध्यकारी नभएको कारण एयर इन्डियाले सुधार कार्य नगरेको खुलासा भएको छ।

दुर्घटनाको समयमा मौसम सफा थियो। दृश्यता राम्रो थियो। कुनै चरा ठोक्किएको प्रमाण छैन। पाइलट ८,२०० घण्टा र सह–पाइलट १,१०० घण्टा उडान अनुभव भएका थिए। दुवै मेडिकल हिसाबले योग्य थिए।

दुर्घटनामा २४१ यात्रु, चालकदलसहित २७० जनाको मृत्यु भयो भने एक मात्र व्यक्ति जीवित रहन सफल भए। विमान अहमदाबादबाट उडेको ३० सेकेन्डमै दुर्घटनाग्रस्त भएको थियो। टेकअफको १९० मिटर उचाइमै अन्तिम सिग्नल प्राप्त भएको थियो।

AAIB ले अन्तिम प्रतिवेदन आउन अझै ६ महिना समय लाग्न सक्ने जनाएको छ। यसबीचमा बोइङ, GE (इन्जिन निर्माता), FAA, र भारतीय उड्डयन प्राधिकरणले संयुक्त अनुसन्धान जारी राख्नेछन्। प्रारम्भिक निष्कर्षले मानवीय त्रुटि वा यान्त्रिक सुरक्षा प्रणालीको चूक सम्भावना उठाएको छ।

विमानको टेकअफपछिको सबैभन्दा संवेदनशील क्षणमै इन्धन आपूर्ति रोकिनु र पाइलटहरू स्वयं अन्योलमा परेका घटनाक्रमले अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा प्रणालीमा नयाँ बहस जन्माएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार