७८ लाख घुस काण्डमा विवादित बनेका मन्त्री गुप्ताले दिए राजीनामा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार पदबाट राजीनामा दिएका छन्। ७८ लाख रुपैयाँको घुस लेनदेन काण्डमा मुछिएपछि उनलाई चौतर्फी आलोचना र राजीनामाको दबाब आइरहेको थियो।
गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाउँदै आफूमाथि लागेका आरोपको निष्पक्ष अनुसन्धान होस् भन्ने उद्देश्यले पद त्याग गरेको बताएका छन्।
"विगत केही दिनदेखि मेरो नाम घुस डिलसँग जोडेर प्रचारमा ल्याइएको सबैलाई विदितै छ," गुप्ताले आफ्नो फेसबुकमा लेखेका छन्, "कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको सिकार भएको महसुस गरिरहेको छु।"
उनले प्रविधिको प्रयोग गरी आफूलाई फसाइएको समेत दाबी गरेका छन्। साथै, अब पार्टीले तोकेको जिम्मेवारीलाई अझ इमानदारिता र निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
गुप्ता विवादमा त्यसबेलादेखि मुछिएका थिए जब एक अडियो सार्वजनिक भयो, जसमा कर्मचारी नियुक्ति र सरुवामा घुसको बार्गेनिङ भएको भनिएको छ। उक्त अडियो सार्वजनिक भएपछि उनीमाथि चौतर्फी आलोचना भएको थियो र राजीनामा दिनुपर्ने माग चुलिएको थियो।
प्रतिक्रिया