गौरादहमा पानीमा लेदो भेटिएकोबारे उपभोक्ता समितिको स्पष्टिकरण
गौरादह, झापा ।
गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पानीमा लेदो (फोहोर) भेटिएकोबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिएको छ। पछिल्लो समय सामाजिक सञ्जालमा पाइप फुटेर फोहोर पानी वितरण भएको विषयलाई लिएर उठेका टिप्पणी र आलोचनालाई सम्बोधन गर्दै समितिले विज्ञप्ति जारी गरेको हो।
समितिका अध्यक्ष नगेन्द्र कार्कीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, "लामो समयदेखिको खडेरी, अत्यधिक गर्मी र उपभोक्ताको चापका कारण खानेपानीको स्रोतबाट पर्याप्त पानी उत्पादन हुन नसकेको अवस्थामा, वितरण प्रणालीमा पनि असहज स्थिति उत्पन्न भएको छ।"
सूचनामा उल्लेख गरिएको अनुसार, पुराना पाइपलाइनमा पानीको कस जम्ने स्वाभाविक प्रक्रिया हो र जब पाइप फुट्छ, त्यहाँबाट पानीको दबाबले साथमा जमेको मैलो पनि बाहिर निस्कने हुँदा यस्तो अवस्था सिर्जना हुन सक्छ। "पाइप फुटेको स्थान भौगोलिक रूपमा टंकीभन्दा उकालो भएकाले नियमित सफाइ गर्दा त्यस क्षेत्रको पाइप सायदै पूर्ण सफा हुन नसक्दा लेदो अधिक देखिएको हुनसक्छ," सूचनामा भनिएको छ।
समितिले स्पष्ट पारेको छ कि संस्थाले उत्पादन गरी परिक्षणपश्चात वितरण गर्ने पानी स्वास्थ्यको दृष्टिकोणले सुरक्षित छ र नियमित रूपमा उपभोक्ताको धाराबाट नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिंदै आएको छ। हालसम्मको परीक्षण प्रतिवेदनले पानी गुणस्तरीय रहेको पुष्टि गर्दै आएको जनाइएको छ।
अध्यक्ष कार्कीले यो विषम परिस्थितिमा पनि २४ सै घण्टा पानी वितरण गर्ने चुनौतीपूर्ण काममा समिति लागिरहेको उल्लेख गर्दै उपभोक्ताहरूलाई पानीको सदुपयोग गर्न, बोटबिरुवा तथा करेसाबारीमा खानेपानी प्रयोग नगर्न र पाइप लिकेज देखिएमा तुरुन्तै समिति वा सम्पर्क नम्बरहरूमा जानकारी गराउन अनुरोध गरेका छन्।
प्रतिक्रिया