प्रधानमन्त्रीको राजीनामापछि प्रदर्शनकारी बालुवाटार प्रवेश
काठमाडौं । देशभर चर्किएको आन्दोलनबीच मंगलबार दिउँसो प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रवेश गरेका छन्।
राज्यका विभिन्न अंगहरूमा एकपछि अर्को नियन्त्रण कायम गर्दै आएका प्रदर्शनकारीहरूको भिड आज अपराह्न अचानक बालुवाटारतर्फ अगाडि बढेको थियो। सुरक्षाकर्मीको कडा घेराबन्दीबीच केही भागमा धकेलाधकेल भएपछि उनीहरू मुख्य गेटभित्र पस्न सफल भएका हुन्।

यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा घोषणा गरेका थिए। निरन्तर बढ्दै गएको जनदबाब र व्यापक विरोधको कारण उनले राजीनामा दिन बाध्य भएको बताइएको छ।
बालुवाटार परिसरमा प्रवेश गरेपछि प्रदर्शनकारीहरूले “जनताको जित, तानाशाहको हार”, “रक्तपातको हिसाब चाहिन्छ” जस्ता नाराबाजी गरेका थिए। केहीले प्रधानमन्त्रीको औपचारिक निवास परिसरभित्र प्रतीकात्मक ध्वजावाहन पनि गरेका छन्।

सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिन प्रयास जारी राखेको बताइएको छ। प्रारम्भिक जानकारी अनुसार धकेलाधकेलमा केही प्रदर्शनकारी घाइते भएका छन्।
राजधानीको अन्य क्षेत्रमा समेत प्रदर्शन चर्किँदै गएको छ। अधिकारकर्मीहरूले संयमित ढंगले आन्दोलनलाई व्यवस्थापन गर्न आग्रह गरेका छन् भने राजनीतिक दलहरू आ–आफ्नो प्रतिक्रियासहित छलफलमा जुटेका छन्। file image

प्रतिक्रिया