फाइल अख्तियारमा थन्कियो, स्थानीयको गाडी खाडलमा अड्कियो
पर्दाफास, असार ९, २०८३ बुधबार ।
२०७५ साल देखि निर्माणक्रममा रहेको गौरादह डिपु देखि कमल १ सोलमारी सडक निर्माण अलपत्र परेको छ । लामो समय देखि निर्माणको प्रतिक्षा रहेको भएपनि एक दशक वितिसक्दा सम्म यो सडक निर्माण हुने छाँटकाँट देखिएको छैन । पुर्व मेयर रोहित कुमार साहकै पालामा सडक डिभिजन कार्यालय दमकले ठेक्का लगाएको यो सडक निर्माण नहुँदा स्थानीयहरु आक्रोशित छन् । स्थानीयले दिनहुँ जसो सामाजिक सञ्जालमा खाल्डाखुल्डी देखाएर आक्रोश पोखिरहेका हुन्छन् ।

स्थानीय व्यवसायी मनिष खनाल आक्रोशित हुँदै भन्छन् 'धेरै अनुरोध गर्दा पनि जनप्रतिनिधिहरुले बेवास्ता गर्नुभएको छ, सायद हाम्रो कुरा नसुन्ने भएर होला।'
त्यसो त यो सडकमा २०७६ ताका उच्चस्तरीय ग्राभेल हालिए देखिनै विवादास्पद देखिदै आएको छ । त्यो बेला उच्चस्तरीय ग्राभेलमै त्रुटि रहेको भनेर स्थानीयले सडकमा ढाट लगाउने सम्मका बिरोध कार्यक्रम गरेका भएपनि १० वर्ष वितिसक्दा सम्म सडकले कुनै गति लिन सकेको देखिदैन । जसोतसो ग्राभेल हाले पछि सडक डिभिजन कार्यालय दमकले निर्माणको लागि ठेक्का सम्झौता गरि कालोपत्रे निर्माणको कार्य सुरु गरियो । तर बिचैमा निर्माण रोकियो । सडक निर्माण हुन नसक्नुको मुख्य कारण ठेकेदारको लापरबाहीले गर्दा हो भनियो । निर्माण सम्झौताको अन्तिम म्याद गुज्रिएपछि सडक डिभिजनले पुनः अर्को ठेक्का प्रक्रियामा जाने प्रयास ३/४ वर्ष अगाडि नै गरेको बताइन्छ । यद्यपि निर्माण ठेकेदार विरुद्ध अख्तियारमा विचाराधीन रहेको र अख्तियारको फैसला आइ नसकेको अवस्था छ । यस्तो अवस्थामा अर्को ठेक्का प्रक्रिया सुरु गर्न समेत नमिल्ने गौरादह १ का वडाध्यक्ष नगेन्द्र भण्डारी बताउछन् ।
सडक निर्माण हुनुपर्छ भनेर हामीले निरन्तर प्रयास गरिरहेकै छौँ, सहरी क्षेत्र भएकोले दैनिक जनजीवनमा यसको गम्भीर असर रहेको हामीले बुझ्न र भोग्न बाध्य छौँ ।', भण्डारीले बताए ।

यद्यपि सडकमा रहेका जोखिमयुक्त खाल्डाखुल्डी पुर्न दुई दिन भित्रै काम थालनी हुने उनले जानकारी गराएका छन् ।
सहरी क्षेत्र भएको कारण यो सडक २४ सै घण्टा व्यस्त रहेको हुन्छ । कमल गाउँ पालिका र गौरादह ९ को बैगुन्धुरा क्षेत्रमा रहेका ईँटाभट्टाहरुले माल सप्लाई गर्ने मुख्य सडक नै यही हो ।

हेवी लोड सवारीसाधनका कारण आज पुरिएका खाडल भोलि फ़ेरि भत्किनु स्वाभाविक हुने भएकोले यथासिघ्र यो सडक निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।
यो सडक गौरादह डिपु बाट बजार हुँदै पूर्व कमल गाउँपालिका १ सोलमारी जोड्ने करिब ३ किलोमीटर लामो सडक हो । यो सडक निर्माण नहुँदा र छेउछाउमा बग्रेल्ती कालोपत्रे सडक देखिँदा स्थानीयहरु आक्रोशित हुनु स्वाभाविक नै मानिन्छ । लामो समय सम्म अख्तियारको ढिलासुस्तीले गर्दा जनजीवन कष्टकर रहेको परिप्रेक्षमा तत्काल कद चालेर सडल निर्माण कार्य सम्पन्न गरिनु टड्कारो आवश्यकता छ ।
प्रतिक्रिया