चार दिनदेखि अवरुद्ध भएको कर्णाली राजमार्गको कालीकोट खण्ड खुल्यो

कालीकोट खण्डको सडक खुले पनि दहि खोलाको पहिरो पन्छाउने काम बाँकी नै छ । दैलेख खण्डको किटु र दहि खोलामा आज पनि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । कर्णाली राजमार्ग पाँच दिनदेखि अवरुद्ध हुँदा मुख्यगरी स्याउ बोकेका ट्रक बाटोमा रोकिएका छन् ।
जुम्लामा उत्पादन भएको स्याउ बजार पठाउने बेला सडक अवरुद्ध हुँदा कुहिने जोखिम बढेको छ । सडक खुल्ने र बन्द हुने निश्चित नहुँदा बाटोमा अलपत्र परेको स्याउ मात्रै नभएर बोटकै स्याउ पनि बजार लैजान र व्यवस्थापन गर्न गाह्रो भएको किसान र व्यवसायीले गुनासो गरेका छन् ।

करोडौँको स्याउ क्षति हुने अवस्थामा पुगेको जुम्लाको हिमा गाउँपालिका–३ का किसान बलबहादुर रोकायाले बताउनुभयो । जुम्लाको स्याउ निर्यात हुने बेलामा भएको सडक अवरोध हटाउन सरकारले ढिलासुस्ती गरेको भन्दै किसान, व्यवसायी र पालिकाका जनप्रतिनिधिले मुख्यमन्त्रीदेखि प्रशासनसम्मलाई ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया