नेपाली कांग्रेसले आउँदो चुनावमा कसैसँग तालमेल नगर्नेसहित महासमिति बैठकका प्रस्ताव पारित गरे
गएको साउन २३ देखि शुरु भई हिजो सकिएको केन्द्रीय समिति बैठकले उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको ‘नीति–प्रस्ताव’, महामन्त्री गगनकुमार थापाको ‘साङ्गठनिक प्रस्ताव’ र महामन्त्री विश्वप्रकाश शर्माको ‘समसामयिक राजनैतिक प्रस्ताव’ बृहत् छलफलबाट प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जन गरी सर्वसम्मत पारित गरेको हो ।
यसैगरी, बैठकले कांग्रेस र एमालेबीच गएको असार १७ गते भएको सातबुँदे सत्ता गठबन्धनको सहमतिपत्रअनुसार ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ लगायत विषयलाई लिएर भइरहेका टीका–टिप्पणीमा ध्यानाकर्षण भएको जनाएको छ ।
सातबुँदे सहमति राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण, सुशासन तथा विकास निर्माणको अभियानलाई तीव्रता दिनेलगायतका उद्देश्य प्राप्तिका लागि हो भन्नेमा प्रस्ट रहेको बैठकले ठहर गरेको छ । सहमतिलाई कार्यान्वयन गर्न बैठकले दृढता व्यक्त गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकले पार्टीको सबै तहका साङ्गठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन, विधानबमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण, कार्यतालिका निर्माणलगायत कार्य समयमै गर्न/गराउन, अभिलेखीकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउनलगायत साङ्गठनिक कार्यमा केन्द्रित भई आउँदो असोज १ देखि पुस १० गतेसम्म एक सयदिने विशेष साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
कांग्रेसले दुग्ध किसानलाई बाँकी रकम अविलम्ब भुक्तानी दिन सरकारसँग माग गरेको छ । त्यस्तै, सबै नागरिकलाई स्वास्थ्य बीमाप्रति आकर्षित गर्न, स्वास्थ्य बीमालाई एकद्वार प्रणाली लागू गरी बीमाको रकम बढाई पाँच लाख कायम गर्न सरकारसँग माग गरेको छ ।
बैठकले चाडबाडका लागि अत्यावश्यक वस्तुका रूपमा रहेको चामल, दाल, चिनीलगायत दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव सृजना हुनसक्ने अवस्थालाई मध्यनजर बजार नियमनको प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया